काठमाडौं । सरकारले संसदमा दर्ता भइसकेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने प्रस्ट पारेको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपानिकट प्रेस संगठनको ज्ञापनपत्र बुझ्दै सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक फिर्ता नहुने प्रस्ट पारे ।
प्रेस संगठनको ज्ञापनपत्रसँग आफ्नो पनि लय मिलेको भन्दै मन्त्री बाँस्कोटाले विधेयकबारे भ्रम खडा गरेर राजनीति गर्न खोजिएको आरोपसमेत लगाए । आचारसंहिता उल्लंघन गर्नेहरुलाईमात्रै सजायको व्यवस्था गरिएको दाबी गर्दै उनले ‘विधेयक संसदको प्रक्रियामा जान्छ’–भने । प्रेस संगठनले विधेयकमा राखिएका जरिवानालगायतका प्रावधानका कारण विधेयकका सकारात्मक विषय पनि ओझेलमा परेको भन्दै परिमार्जन गरेर जान सुझाव दिएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
सोही पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले यही जेठ ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका थिए । जसअनुसार मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउनका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
यस्तै, अर्को वर्ष संयुक्त राष्ट्रसंघले मनाउने वैशाख दिवस (बुद्धजयन्ती) कार्यक्रम लुम्बिनीमा आयोजना गर्ने, विदेशी लगानीका लागि न्यूनतम् सीमा पाँच करोड रुपैयाँ तोक्ने निर्णय पनि गरिएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणका लागि जाँचबुझ गर्न मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको छ । सो आयोगको सदस्यमा जानकीबल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा रहेका छन् ।
यस्तै, प्रदेश सरकारअन्तर्गत् रहेका सेती राजमार्ग उत्तरखन्ड (टीकापुर–लुडे–चैनपुर–ताक्लाकोट)लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याइ सन्चालन गर्नेलगायतका विभिन्न १६ ओटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।






