तक्दीर अधिकारी
सिड्नी । सिड्नीको साउद वेस्टमा नेपाली समुदायको बसोबास वृद्धि भइरहेको छ । जनघनत्व वृद्धिसँग मानिसको जीवनशैली तथा सुर्ती र मदिराजन्य वस्तुको सेवनले मानिस धेरै किसिमको रोगको शिकार बन्न पुगेको तथ्यांकले देखाउँछ ।
कार्यक्रम संयोजक डा. देवेन्द्र सापकोटाका अनुसार सिड्नीमा मनोरञ्जनात्मक र व्यवसायिक कार्यक्रम प्रशस्त भए पनि स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम न्यून हुने गरेको छ । जनघनत्व धेरै भएको ठाउँमा प्रशस्त मानिसमा स्वास्थ्य जनेचतनाको अभाव देखिन्छ । यो अभावलाई न्यून गर्न साउद वेस्ट नेप्लिज कम्युनिटी सिड्नीले निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ । जुन १ तारिखमा आयोजना गरिएको उक्त कार्यक्रम रोन मुरे कम्युनिटी सेन्टरमा आयोजना हुनेछ । यो कार्यक्रममा देश विदेशमा काम गरेर अनुभव हासिल गरेका विज्ञको टोलीले रोग लाग्ने कारण र यसबाट बच्ने र सजग रहने उपाय सुझाउने छन् ।
उक्त स्वास्थ्य सचेतना कार्यक्रमबाट ६ वटा सुविधा निःशुल्क पाइने आयोजकले बताएका छन् । पुरुष स्वास्थ्यमा प्रोटेस्ट र मधुमेहको जाँच, महिला स्वास्थ्यमा पाठेघर र स्तन क्यान्सरसम्बन्धी परीक्षण, मुटु रोगसम्बन्धी, जेष्ठ नागरिकको स्वास्थ्य जाँच र भविष्य, मस्तिष्क र दाँतको जाँच गरिने आयोजकहरुले जनाएका छन् ।
ल्यान्ड एन्ड लिज रियल्टी मुख्य प्रायोजक रहेको उक्त स्वास्थ्य सचेतना शिविरमा सहभागिता जनाउन आयोजकले अनुरोध गरेका छन् ।







