युएई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चार जनाको मृत्यु भएको छ । बेलायतमा दर्ता गरिएको डीए फोर टु विमान दुर्घटना हुँदा तीन बेलायती र एक दक्षिण अफ्रिकाका नागरिकको मृत्यु भएको हो ।
चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए । विमान फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको थियो । सो कम्पनीले राडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । दुर्घटनाबारे छानबिन भैरहेको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्रा्ष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो । विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए ।






