आतिथ्य मिठो मधुरो मुस्कान, गुल्मीको रनवन
रिडि र रुरुको सम्झना बढ्दा, फुल्दछ मेरो मन
पर्यटक आउँछन् भिड बढी जान्छ, जीवनको यो खेला
गहका आशुँ छल्केर आउँछन्, माघेनी त्यो मेला
धुर्कोट, पुर्कोट, मुसिकोट देख्दा, रेसुङगा हाँसेको
शालिमे दह लाग्दछ कतै, पिरती गाँसेको
हरिया वन जंगलले कतै, सुन्दरता झल्काउँछन्
छहरा पहरा सम्झेर बस्छु, मन मात्रै कल्पाउँछन्
खर्बाङ खोलाको बगर पनि, खुब प्यारो लाग्दछ
पिउन पानी बेत्रावतिको, खुब प्यास जाग्दछ
आँपचौरको कफी सम्झेर बस्छु, यो लण्डन शहरमा
छोडेर आएँ त्यो मातृभूमि, खै के को रहरमा
घाम र छायाँ यो जिन्दगानी, कर्कलो पानी हो
गुल्मी त मेरो मुटुको टुक्रा, आँखाको नानी हो
झुकाई शीर प्रणाम गर्छु, देउताको थानमा
गर्नु है बास हे प्यारो गुल्मी, जीवनको पानामा
परदेशी हुनु रहर त होइन, जीवनकै बाहाना
गुल्मीको काखमा रमाउन पाउँ, यही छ चाहना
यो जीवन मेरो रहेसम्म नि, तिमीलाई अर्पिन्छु
सम्झेर तिम्लाई बिरानो देशमा, पल पल तड्पिन्छु






