सालको पात – चार करोड ‘भ्युअर्स’ का गायक कुलेन्द्र विक लन्डन आइपुगे

शिब भण्डारी ,

लन्डन–पर्वत वेलफेयर सोसाइटीले नेपाली नयाँ वर्ष कार्यक्रम मनाउने भएको छ । भोलि मे ४ तारिख शनिबार अल्र्टसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपालबाट कुलेन्द्र विश्वकर्मा लन्डन आइपुगिसकेका छन् । पछिल्लो समय ‘ सालको पातको टपरी हुनी ’ गीतबाट चर्चाको शिखरमा रहेका विश्वकर्मालाई रिसिभ गर्ने वेलफेयर सोसाइटीका अध्यक्ष नेत्र आले, पूर्वअध्यक्ष ददी आचार्य, सचिव तथा प्रवक्ता प्रकाश न्यौपाने र सदस्य भीमलाल भट्टराई हिथ्रो विमानस्थलमा पुग्नुभएको थियो । कार्यक्रममा विश्वकर्मालाई बेलायतमा रहेका नेपाली कलाकारहरुले साथ दिने सोसाइटीले जनाएको छ । विगतमा जस्तै यस वर्ष पनि सोसाइटीले नयाँ वर्ष मनाउने भव्य तयारी गरेको अध्यक्ष आलेले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायलाई अध्यक्ष आलेले अनुरोध गरेका छन्‘

सालको पातको टपरी हुनी -नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो‘

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो । ‘उत्साहित छौँ, राम्रो प्रतिक्रिया आएको छ’बिमान स्थलमा लन्डन नेपाल न्यूज डटकमका लागि प्रधानसम्पादक शिव भण्डारीसँग गायक विश्वकर्माले भने । गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको उनको भनाइ थियो । ‘शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको छ’, विश्वकर्माले भने ।

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दर्शकबीच लोकप्रिय भएर  चार करोड  पटक हेरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *