लण्डन । केन्टको मेडस्टोनमा दिनेश खड्का काउन्सिलर निर्वाचित भएका छन् । विहिबार सम्पन्न स्थानीय निर्वाचनमा लिबेरल डेमोक्रयाट पार्टीका उम्मेदवार खड्का भारी मत अन्तरले विजयी बनेका हुन् । मेडस्टोनको हाई स्ट्रिट वडाको काउन्सिलरको लागि खड्काले ८ सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी कन्जरभेटिभ पार्टीका उम्मेदवारले ३ सय ६० मत मात्र पाए । खड्का निर्वाचित भएको क्षेत्रमा विगत २५ वर्षभन्दा लामो समयदेखि उनकै दल लिबेरल डेमोक्रयाटले नै जित्दै आएको थियो
निर्वाचित भएलगत्तै खड्काले भने विगत २४ वर्षसम्म याहांको काउन्सिलर रहने नेतालाई ‘रिप्लेस’ गर्नु मेरो लागि अवसर र चुनुती दुवै हो । मलाई विश्वास गरेर यो जिम्मेवारी दिने सबै स्थानीयाहरुको भावनाको सम्बोधन हुने गरी काम गर्ने मेरो अठोट छ । ‘ सन् २००१ मा बेलायत आएका खड्का नेपालमा दाङ जिल्लाका हुन् । एक बेलायती फुड कम्पनीमा टेक्निकल मेनेजरको रुपमा कार्यरत उनले फुड साइन्समा विद्यावारिधि गरिरहेका छन् । सन् २०१० मा लिबेरल डेमोक्रयाट पार्टीको सदस्यता लिएपछि उनी स्थानीय राजनीतिमा क्रियाशिल रहंदै आएका छन् ।






