एजेन्सी- मानव प्रजातिको सूचीमा अर्को एउटा नाम जोडिएको छ जसको अवशेष फिलिपिन्सको एक गुफामा भेटिएको छ ।
लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप लूजोनमा भेटिएको छ । यो प्रजातिको नाम होमो लूजोनेसिस राखिएको छ ।
यो प्रजातिमा पाइने केही –केही भौतिक विशेषताहरु प्राचीन मानव प्रजाति र अहिलेका मानव प्रजातिसँग मिल्दोजुल्दो छ ।
यी प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको हुनसक्ने जो पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान लगाइएको छ । यो अवशेष भेटिनुअघि यस्तो हुनु लगभग असम्भव मानिएको थियो ।
यो खोजपछि फिलिपिन्स र यो प्रान्तमा मानव प्रजातिको विकास निकै जटिल भएको हुनसक्ने अनुमान गरिएको छ किनभने यहाँ पहिलेदेखि नै तीन वा त्योभन्दा बढी मानव प्रजातिको बसोबास थियो ।
यीमध्ये एक थियो छोटो कद भएका ‘हबिट’ वा होमो फ्लोरेसिन्सिस जो इन्डोनेशियाको फ्लोर्स नामको द्वीपमा करिब ५० हजार वर्षसम्म रहेका थिए ।
लण्डनको नेचुरल हिस्ट्री म्यूजियमका प्राध्यापक क्रिस स्ट्रिंगर भन्छन्, ‘सन् २००४ मा छोटा कद भएका मानव प्रजाति होमो फ्लोरेसिन्सिकबारे जानकारी प्रकाशित भएको थियो । मैलै त्यतिबेला मानव प्रजाति खोज्ने काम जुन फ्लोर्समा गरिएको छ त्यसलाई इलाकाका अन्य द्वीपमा पनि गर्नुपर्ने बताएको थिएँ ।’






