एजेन्सी- न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डर्न एकपटक पुनः चर्चामा छिन् । यसपटक उनले क्राइस्टचर्चको एक सुपरमाकेर्टमा एउटी यस्ती आमालाई मद्दत गरेकी छिन् जसले आफ्नो पर्स घरमा बिर्सिएकी थिइन् । महिला आफ्ना दुई सन्तानसहित सपिङमा आएकी थिइन् । आफूलाई चाहिने सामान खरिद गरेर लाइन लागेर बिल तिर्न पुगिन् तब उनले आफ्नो पर्स नै बिर्सिएको थाहा पाइन् । उनी तनावमा देखिइन् । उनको पछाडि उभिएकी प्रधानमन्त्री जसिन्दा अडैर्नले उनको बिल तिरिदिइन् ।
महिलाकी साथीले यो घटनालाई फेसबुकमा सेयर गरिन्ः
गत महिना प्रधानमन्त्री जसिन्दाको संसारभरी निकै चर्चा भएको थियो । जब क्राइस्टचर्चका दुई मस्निदमा हमला भयो तब उनी बुर्का लगाएर पीडितलाई भेट्न पुगेकी थिइन् ।
न्यूजिल्याण्डको स्थानीय वेबसाइट स्टफ एलटीडीले महिलाकी साथी हेलेन बेर्नेसले यो घटनाबारे फेसबुकमा लेखेको बताएको छ । उनले लेखिन्, ‘मेरी एक साथी आफ्ना दुई सन्तानलाई लिएर सपिङ गर्न गएकी थिइन् । उनले आफ्नो पर्स बिर्सिएकी थिइन् । लाइनमा पछाडि उभिएकी प्रधानमन्त्री जसिन्दाले बिल तिरिदिइन् ।’
पैसा तिरिएको हो, होइन भनेर स्थानीय मिडियाले जान्न खोज्दा उनले यसको पुष्टि गरेको रोयटर्सले बताएको छ । किन अपरिचितको बिल तिरिदिएको भन्ने प्रश्नमा उनले छोटो प्रतिक्रिया दिइन्, ‘ किनभने उनी एक आमा थिइन् ।’ उनले यसबारे विस्तृत जानकारी दिन अस्विकार गरिन् ।
न्यूजिल्याण्ड हेराल्डले नाम उल्लेख नगरी ती महिलालाई उद्धृत गर्दै लेख्यो, ‘म लाइनमा उभिएकी थिएँ र प्रधानमन्त्री मेरो पछाडि नै हुनुहुन्थ्यो । म चकित भएकी थिएँ । उनी अघि बढिन् र मेरो किरानाको सामानको बिल तिरिदिनुभयो । किनभने म मेरा दुई सन्तानसँग सपिङ गर्न गएकी थिएँ र मैले आफ्नो पर्स घरमा नै बिर्सिएको थिएँ ।’






