बेलायतमा ७५ हजार मानिसहरुको ओमिक्रोनबाट मृत्यु हुनसक्ने अनुमान, बुस्टर डोज लगाउन आग्रह

बेलायतमा ७५ हजार मानिसहरुको ओमिक्रोनबाट मृत्यु हुनसक्ने अनुमान, बुस्टर डोज लगाउन आग्रह

लण्डन । बेलायत सरकारले ३० बर्ष र सो भन्दा माथि पुगेका मानिसहरुले कोभिड १९ को बुस्टर डोज लगाउन सोमबारबाट थाल्ने भएको छ ।

स्वास्थ्य मन्त्री सजिद जावेदले कोरोनाको नयाँ स्वरुप ओमिक्रोनविरुद्ध लड्नकोनिम्ती बुस्टर डोज अत्यन्तै आवश्यक रहेको भन्दै योग्यता पुगेकाहरुले अनिवार्य रुपमा तेस्रो मात्रा लगाउन भनेका छन् ।

दोस्रो डोज लगाएको ६ महिनापछि लगाउने गरिएकोमा अब भने तीन महिना पछि नै बुस्टर मात्रा पाइने भएको छ ।

अप्रिलको अन्तिमसम्म बेलायतमा ओमिक्रोनले झन २५ हजार देखि ७५ हजार मानिसहरुको मृत्यु हुन सक्ने तथ्यांक आएको अवस्थामा सरकारले बुस्टर डोजलाई तिव्र पारेको हो ।

लण्डन स्कूल अप हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरुले प्लान वी भन्दा माथिका प्रतिबन्धहरु नभएको अवस्थामा पर्याप्त मात्रामा ओमिक्रोन फैलिने बताए ।

शनिवार मात्रै यूकेमा ५४ हजार बढी संक्रमित भेटिएका छन् । जसमा ६३३ केसहरु ओमिक्रोन हुन् । तर वास्तविक केस भने अझै धेरै रहेको अनुमान छ ।

वैज्ञानिक निक डेभिसले यस बर्षको अन्तिममा कोभिडको ओमिक्रोन रुपले बढी क्षति गर्न सक्ने बताए ।

बेलायतमा यसै हप्ताबाट प्लान बी का प्रतिबन्धहरु लागू हुने भएका छन् । जसमा इन्डोर रहँदा र सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्क लगाउन पर्नेछ ।

मानिसहरुलाई सकेसम्म घरबाट नै काम गर्न भनिएको छ भने केयर घरहरुमा तीन जना मानिसहरुमात्रै जान पाउने नियम बनाइएको छ ।

यस्तै बेलायतमा ओमिक्रोन संक्रमितहरु अस्पतालमा भर्ना हुन समेत थालेका छन् ।