- शिव भण्डारी
लन्डन- बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूकेको निर्वाचन सरगर्मी बढ्न थालेको छ । अध्यक्षमा दुई जनाले दाबी गरेसँगै निर्वाचन माहौल एकाएक तातिएको छ ।
अप्रिल ६ तारिखमा हुने छैटौं अधिवेशनका लागि मगर संघ यूकेको उपाध्यक्ष भइसकेकी अनिता रानामगर र मगर संघ यूकेका सल्लाहकार सुनिल रानाले उम्मेदवारी घोषणा गरेका हुन् । दुवै जनाले आफूलाई निर्वाचनमा जिताउन प्रचार प्रसार गरिरहेका छन् ।
अनिताले गत मार्च २ मा फार्नबोरोमा सम्पन्न कार्यसमितीको बैठकमा अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन । रानामगर यस अघि मगर संघ स्विन्डन शाखाको उपाध्यक्ष र मगर यूकेको सांस्कृतिक विभाग सचिव रहेर संस्थाको सेवा गरिसकेकी छिन् । सरल स्वभाव र काम गर्ने ऊर्जा देखेर ३ बर्ष अघि मगर संघ यूकेले उहाँलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो।
उपाध्यक्षमा रहेर मगर संघको बिभिन्न कार्यक्रमहरुको सफलता पूर्वक जिम्मेवारी वहन गरेकी छिन् । सोही जिम्मेवारी वहन गरेकै कारण रानाले आगामी ६ अप्रीलमा सम्पन्न हुने छैटौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्ष पदको लागी आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।
अनिता यसअघि मगर संघ हङकङको संस्थापक उपाध्यक्षसमेत हुन् ।
अर्का अध्यक्षका दाबेदार सुनिल राना मगर संघ यूकेका सल्लाहकार हुन् । २००३ मा भएको स्थापनाको भेलादेखि नै संघमा रहेका उनी रसमोर शाखामा दुई कार्यकाल अध्यक्ष भएका थिए ।
रानाको कार्यकालमा रसमोर क्षेत्रमा पहिलोपटक मगर भाषाको कक्षा सुरुवात गरिएको थियो भने मगर महिलाहरुको भलिबल प्रतियोगिता भएको थियो ।
राना मगर संघ यूकेको विधान मस्यौदादेखि विभिन्न कन्सर्ट आयोजनाको जिम्मेवार पदमा रहेर काम गरेका छन् ।






