एनआरएन अमेरिकाको साधारणसभामा प्रवेश शुल्क १५ डलर, भ्रम नफैलाउन आग्रह

काठमाण्डौ ६ चैत । मार्च २१ र २२ मा वासिंटन डिसी क्षेत्रमा हुन गइरहेको एनआरएन अमेरिकाको वार्षिक साधारणसभाको बन्दशत्रमा प्रवेशका लागि १५ डलरमात्र शुल्क तोकिएको भेला आयोजक समितिका संयोजक लोक तिवारीले जानकारी दिनुभएको छ । खसोखाससँग कुराकानी गर्दै तिवारीले भन्नुभयो –‘भेलाको बन्दशत्रमा मात्र सहभागी हुन चाहनेहरुले १५ डलर शुल्क तिरेर सहभागी हुन सक्नेछन् । ’
साधारणसभामा सहभागी भएर आफ्नै तर्फबाट लन्च वा डिनर गर्नेहरु तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नचाहनेहरुले प्योकजमा तोकिएको १ सय डलर शुल्क तिर्नु नपर्ने पनि तिवारीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –‘शुल्कबारे सृजना गर्न खोजिएको भ्रमप्रति हामीलाई दुख लागेको छ । प्याकेजमा शुल्क तिर्न नचाहनेहरुले आफू सहभागी हुने कार्यक्रमका लागिमात्र पनि शुल्क तिर्न सक्नेछन् । ’
साधारणसभामा प्रत्यक्ष सहभागी हुन नसक्ने एनआरएन अमेरिकाका साधारण सदस्यहरुले कन्फ्रेन्स कलमार्फत बन्दशत्रमा सहभागिता जनाउन सक्ने र त्यसका लागि विशेष व्यवस्था गर्न लागिएको पनि तिवारीले जानकारी दिनुभयो । साधारण सदस्य नबनेका तर कार्यक्रममा सहभागी हुन चाहनेहरुले साधारणसभा स्थलमा नै सदस्यता शुल्क १० डलर र प्रवेश शुल्क १५ डलर तिरेर बन्दशत्रमा सहभागी हुनसक्ने पनि साधारणसभा आयोजक समितिका संयोजक लोक तिवारीले जानकारी दिनुभयो ।