अमेरिकाले वर्षेनी दर्जनौं नेपालीहरुलाई असाधारण प्रतिभा (एक्स्ट्रा अर्डिनरी एबिलिटी ) का रुपमा स्वीकारेर ग्रिनकार्ड प्रदान गर्दै आएको छ । यसरी असाधारण योग्यता प्रदर्शन गरेर अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरु १५ वर्षको अवधिमा १ हजार २५ जना रहेका छन् । जसमध्ये २ सय ७२ जना नेपालीहरु त अमेरिकामा नै नआइकन नेपालमै बसेर असाधारण योग्यताका आधारमा ग्रिनकार्डका लागि योग्य ठहरिएका थिए । यसरी ग्रिनकार्ड पाउनेहरु अधिकांश नेपाली कलाकारहरु रहेका छन् । त्यो बाहेक पत्रकार, प्रोफेसर, शोधकर्ताहरु, बहुराष्ट्रिय कम्पनीका मेनेजरहरु र त्यस्ता कम्पनीका उच्च अधिकारीहरुले समेत असाधारण क्षमताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका छन् ।
कुन वर्ष कतिले पाए ?
हरेक वर्ष अमेरिकाले विश्वभरबाट असाधारण योग्यता भएका ४० हजार ४० जनालाई अमेरिकाको स्थायी बासिन्दा बनाउने ग्रिनकार्ड प्रदान गर्दै आएको छ । पारिवारिक स्पोन्सरबाट दिइने ग्रिनकार्डको सबै कोटा प्रयोग नभएको नभएको खण्डमा त्यसबाट बचेको संख्या पनि असाधारण प्रतिभा हुने व्यक्तिलाई ग्रिनकार्ड दिनमा प्रयोग गरिदै आएको छ । त्यसकारण कुनै कुनै वर्ष विश्वभरबाट ४० हजार ४० भन्दा धेरैले समेत असाधारण योग्यताका आधारममा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् ।
गतवर्ष अर्थात् सन् २०१४ मा विश्वभरका असाधारण योग्यता भएका ४० हजार ६ सय ८ जनाले ग्रिनकार्ड प्राप्त गरेका थिए । अघिल्लो वर्ष पारिवारिक स्पोन्सरका आधारमा दिइने ग्रिनकार्डको सबै कोटा प्रयोग नभएका कारण र रोजगारमा आधारित अन्य श्रेणीबाट दिइने ग्रिनकार्डको सबै कोटा प्रयोग नभएका कारण गत वर्ष ४० हजार ४० जना भन्दा धेरैले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाएका थिए । गतवर्ष यसरी ग्रिनकार्ड पाउनेहरुमा ६४ जना नेपाली कलाकार, पत्रकार, खेलाडी, प्रोफेसर र अनुसन्धानकर्ताहरु रहेका थिए । अमेरिकामा विभिन्न भिसामा आएकाहरुमध्येबाट ४० जनाले र नेपालमै बसिबसी त्यस्तो ग्रिनकार्डका लागि आवेदन दिने २४ जनाले असाधारण योग्यता प्रमाणित गरेर ग्रिनकार्ड पाएका थिए । नेपालमै बसेर आवेदन दिने २४ जनालाई अमेरिकाले आप्रवासी भिसा प्रदान गरेर अमेरिकामा ल्याएपछि ग्रिनकार्ड प्रदान गरेको थियो ।
त्यस्तै सन् २०१३ मा असाधारण योग्यता प्रमाणित गरेर ग्रिनकार्ड लिने नेपालीहरु ९७ जना रहेका थिए । जसमध्ये ६४ जना पहिले नै अमेरिकामा आएर आवेदन दिनेहरु थिए भने ३३ जना नेपालमै आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए । सन् २०१३ मा असाधारण योग्यता प्रदर्शन गरेर विश्वभरबाट ३९ हजार ५८ जनाले ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यस्तै सन् २०१२ मा असाधारण योग्यता प्रमाणित गरेर ग्रिनकार्ड लिने नेपालीहरु ७९ जना रहेका थिए । जसमध्ये ३० जना नेपालमै आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए । यो वर्ष विश्वभरबाट ३९ हजार ३ सय ८७ जनाले यो श्रेणीको ग्रिनकार्ड पाएका थिए ।
त्यस्तै २०११ मा विभिन्न भिसामा अमेरिकामा आइसकेका ४८ जना र नेपालमै रहेका ३६ जना गरी ८४ जनालाई असाधारण योग्यताका आधारण ग्रिनकार्ड स्वीकृत गरिएको थियो । यो वर्ष विश्वभरबाट जम्मा २५ हजार २ सय २९ जनालेमात्र असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । सन् २०१० मा असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरु १ सय ५ जना रहेका थिए । जसमध्ये ४९ जनाले नेपालमै बसीबसी आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिएका थिए । यो वर्ष विश्वभरबाट ४१ हजार २६ जनाले असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड लिए ।
त्यस्तै सन् २००९ मा १ सय ६ जनाले नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरे । जसमध्ये १७ जना नेपालमै बसेर आवेदन दिनेहरु थिए । यो वर्ष विश्वभरबाट जम्मा ४० हजार ९ सय ७६ जनाले असधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । अघिल्लो वर्ष सन् २००८ मा ८३ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । जसमध्ये १९ जनाले नेपालमै बसेर आवेदन दिएपछि स्वीकृत हुनासाथ अमेरिकामा आएर ग्रिनकार्ड लिएका थिए । यो वर्ष विश्वभरबाट ३६ हजार ५ सय ८४ जनाले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड लिएका थिए ।

कलाकार रामप्रसाद खनालको ग्रिनकार्ड स्वीकृत भएको सरकारी कागजात
त्यस्तै सन् २००७ मा यसरी ग्रिनकार्ड पाउने नेपालीहरु ७१ जना रहेका थिए । जसमध्ये २१ जना नेपालबाटै आवेदन दिएर ग्रिनकार्ड स्वीकृत हुनेहरु रहेका थिए । यो वर्ष विश्वभरबाट २६ हजार ८ सय ६ जनाले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । सन् २००६ मा १ सय नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेकोमा नेपालमै बसेर आवेदन स्वीकृत हुने जम्मा ७ जना रहेका थिए । यो वर्ष विश्वभरबाट ३७ हजार ४ सय ८९ जनाले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए ।
सन् २००५ मा १ सय १ जना नेपालीले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरे । जसमध्ये नेपालमै बसेर आवेदन दिने र ग्रिनकार्ड स्वीकृत भएपछि अमेरिकामा आउनेहरु ६ जना रहेका थिए । यो वर्ष अत्याधिक ६६ हजार ३ सय ४४ जनाले विश्वभरबाट असाधारण प्रतिभाका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यस्तै सन् २००४ मा २७ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाए । जसमध्ये जम्मा ४ जना नेपालमै बसेर आवेदन स्वीकृत हुने र पछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए । यो वर्ष ३१ ह्जार १ सय ४० जनाले विश्वभरबाट असाधारण प्रतिभाका आधारमा ग्रिनकार्ड लिएका थिए ।
त्यस्तै सन् २००३ मा जम्मा १५ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । जसमध्ये नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु ५ जना रहेका थिए । यो वर्ष १४ हजार ७ सय जनाले मात्रै असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यस्तै सन् २००२ मा जम्मा २९ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाएकोमा नेपालमा बसेर आवेदन दिने र स्वीकृत हुनेहरु ३ जना रहेका थिए । यो वर्ष विश्वभरबाट यसरी ग्रिनकार्ड लिनेहरु ३३ हजार ९ सय २२ जना रहेका थिए । सन् २००१ मा ३८ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेकोमा १६ जना नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु रहेका थिए । यो वर्ष विश्वभरबाट यो श्रेणीमा ४२ हजार ९ सय ९७ जनाले ग्रिनकार्ड पाए । त्यस्तै सन् २००० मा असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाउने नेपालीहरु २६ जना रहेका थिए । यो वर्ष नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु जम्मा २ जना रहेका थिए । सन् २००० मा विश्वभरबाट असाधारण योग्यताका आधारमा २९ हजार ४२ जनाले ग्रिनकार्ड लिएका थिए ।

एक बरिष्ठ कलाकारको ग्रिनकार्ड अस्वीकृत गरेको सरकारी कागजात ।
सन् २०१५ मा कतिले पाउँदैछन् ?
अमेरिकी सरकारले हरेक वर्ष असाधारण योग्यताका आधारमा ग्रिनकार्ड दिने नम्बर तोकेको हुन्छ । यो नम्बर अक्टोबर १ बाट प्रयोग हुन थाल्छ र सेप्टेम्बर ३० सम्म प्रयोग भइसक्नुपर्छ । अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टका अनुशार आर्थिक वर्ष २०१५ मा असाधारण योग्यताका आधारमा ग्रिनकार्ड दिने संख्या ४१ हजार १ सय ८४ तोकिएको छ । अर्थात् आगामी सेप्टेम्बर ३० सम्म विश्वभरबाट ४१ हजार १ सय ८४ जनाले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाउन सक्नेछन् । रोजगारमा आधारित अन्य श्रेणीका लागि तोकिएको ग्रिनकार्डको संख्या प्रयोग नभएको खण्डमा त्यो संख्या पनि असाधारण योग्यताका आधारमा दिइने ग्रिनकार्ड संख्यामा थपिने हुँदा ४१ हजार १ सय ८४ जना भन्दा केही बढिले समेत ग्रिनकार्ड पाउनसक्ने सम्भावना रहन्छ ।
गतवर्ष झण्डै ४ हजारको संख्यामा परिवारको स्पोन्सरबाट ग्रिनकार्ड दिइने कोटा नम्बर खेर गएकाले रोजगारमा आधारित कोटा सन् २०१५ का लागि १ लाख ४४ हजार तोकिएको छ । जसमध्ये असाधारण योग्यताका आधारमा दिइने ग्रिनकार्डका लागि ४१ हजार १ सय ८४ तोकिएको हो । गतवर्ष २ लाख २१ हजार १ सय ९३ जनाले पारिवारिक स्पोन्सरबाट ग्रिनकार्ड पाएका थिए । जबकी कोटा २ लाख २६ हजार रहेको थियो । यो वर्ष पारिवारिक स्पोन्सरका आधारमा दिइने ग्रिनकार्डको सबै संख्या प्रयोग नभएको त्यो पनि अर्को वर्ष रोजगारका आधारमा दिइने ग्रिनकार्डको कोटामा थपिनेछ ।
अमेरिकी सरकारको युएससीआईएसले हरेक आर्थिक वर्षको अक्टोबर १ बाट असाधारण प्रतिभाका आधारमा दिइने ग्रिनकार्डको नम्बर प्रयोग गर्न थाल्ने भएकाले सुरुका चारमहिना अर्थात् अक्टोबरदेखि जनवरीसम्म असाधारण योग्यताका आधारमा ग्रिनकार्ड स्वीकृत हुने दर उच्च रहेको छ । यो समयमा ग्रिनकार्डको अत्याधिक कोटा प्रयोग हुने गरेको र त्यसपछि कोटा सकिदै जाने भएकाले त्यसपछिका आवेदनहरु अस्वीकृत हुने दर बढ्ता रहेको कानुन व्यवसायीहरुको अनुभव रहेको छ ।
कसकसले पाए ? कसकसले पाएनन् ?
असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाउने नेपालीहरुमा कलाकारहरु अत्याधिक रहेका छन् । ब्यापार, कला , शिक्षा , विज्ञान र खेलकुदका क्षेत्रमा असाधारण प्रतिभा हुनेहरुले यो श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने स्पष्ट अमेरिकी नीति भएका कारण पनि कलाका क्षेत्रमा असाधारण प्रतिभा प्रदर्शन गरेर नेपाली कलाकारहरुले ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । त्यसपछि खेलकुदका क्षेत्रमा असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । तर विज्ञान, शिक्षा र ब्यापारका क्षेत्रमा असाधारण योग्यता प्रर्दशन गरेर ग्रिनकार्ड लिने नेपालीहरु भने अत्यन्तै कम रहेका छन् । त्यो बाहेक असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड लिने लेखकहरु पनि उल्लेख्य छन् । तर असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड लिने पत्रकारहरु औंलामा गन्न सकिने रहेका छन् ।
लोकगायकका रुपमा असाधारण प्रतिभा प्रदर्शन गरेर सन् २००६ मा भर्जिनिया निवासी रामप्रसाद खनालले ग्रिनकार्ड प्राप्त गरेका थिए । रामप्रसाद खनाल भन्छन् –‘यसरी ग्रिनकार्ड लिने कलाकारहरु म भन्दा अगाडि पनि धेरैजना हुनुहुन्थ्यो । प्रेमराजा महत, सरोज खनाल लगायतका कलाकारहरुले मभन्दा अगाडि असाधारण योग्यताकै आधारमा ग्रिनकार्ड प्राप्त गर्नुभएको हो । म भन्दा पछाडि पनि धेरै नयाँ पुराना कलाकारहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गर्नुभएको छ । ’ केही पत्रकार , लेखक र कलाकारहरुले शरणार्थीका रुपमा आवेदन दिएर शरणार्थीको मान्यता पाएपनि आफूले योग्यताका आधारममा ग्रिनकार्ड पाएको हल्ला समेत पिटाउने गरेको रामप्रसाद खनालको अनुभव रहेको छ ।
असाधारण योग्यताका आधारमा ग्रिनकार्डका लागि आवेदन दिएर अस्वीकृत हुने नेपालीहरुको पनि अमेरिकामा लामो सुची रहेको छ । राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरुको आवेदन अस्वीकृत भएको थियो । आवेदन अस्वीकृत भएपछि पौडेल केही वर्ष अगाडि नेपाल फर्केका थिए भने प्रारम्भिक आवेदन अस्वीकृत भइसकेपछि अदालतमा जाने प्रकृयालाई त्यागेर कलाकार गौरी मल्ल पनि गत वर्ष नेपाल फर्केकी थिइन् । असाधारण योग्यताका आधारमा ग्रिनकार्डका लागि दिएको आवेदन अस्वीकृत भइसकेपछि केहीले भने शरणार्थीका लागि आवेदन दिने गरेका छन् । केही भने प्रारम्भिक आवेदन अस्वीकृत भइसकेपछि वर्षौदेखि अपिल र अदालतको प्रकृयामा समेत रहेका छन् ।
कलाकार हरिबहादुर थापाले सन् २००८ मा असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेको र ब्याडमिन्टन खेलाडी पशुपति पनेरुले पनि सन् २००९ मा असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेको न्युयोर्कका कानुन व्यवसायी विनोद रोकाको वेभसाइटमा जनाइएको छ । त्यस्तै रमेश उप्रेतीले पनि सन् २००८ मा असाधारण प्रतिभा प्रदर्शन गरेर ग्रिनकार्ड प्राप्त गरेको र हास्यकलाकार रतन सुवेदीले सन् २००८ मा नै असाधारण प्रतिभाका आधारमा ग्रिनकार्ड प्राप्त गरेको विनोद रोका एसोसिएट्स पीसीको वेभसाइटमा सार्वजनिक गरिएको छ । त्यस्तै मार्शल आर्टका खेलाडी थानेश्वर राईले पनि विनोद रोकाकै ल फर्मबाट आवेदन दिएर असाधारण योग्यताका आधारममा ग्रिनकार्ड प्राप्त गरेका हुन् ।
कलाकार युना उप्रेतीले गिरिजा गौतमको कानुनी कार्यालयबाट असाधारण योग्यताका आधारमा ग्रिनकार्डको आवेदन दिएकी थिइन् । ल अफिस अफ गिरिजा गौतमको वेभसाइटमा जनाइएअनुशार कलाकार युना उप्रेती र पत्रकार आशिष लुइटेलले असाधारण योग्यताका आधारमा दिएको ग्रिनकार्ड आवेदन केहीदिनमा नै स्वीकृत भएको थियो । डाक्टर मायाप्रकाश सिंहले असाधारण प्रतिभा भएका बैज्ञानिक दावी गर्दै गिरिजा गौतमको कानुनी कार्यालयबाट आवेदन दिएर ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यस्तै न्युयोर्कमा रहेका नेपालीका कानुनी कार्यालयहरु भट्ट ल फर्म, क्षेत्री ल फर्म, ल अफिस अफ केशवराज सेडाई, भूर्तेल ल फर्म, रमेश श्रेष्ठको कानुनी कार्यालयबाट असाधारण योग्यताका आधारमा ग्रिनकार्डका लागि आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरुको सुची पनि लामै रहेको छ ।

एकजना लोकगायकको ग्रिनकार्ड अस्वीकृत भएको सरकारी कागजात ।
के हो असाधारण योग्यता ?
असाधारण योग्यताको आधारमा ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । कुनै व्यक्तिले राष्ट्रिय स्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।
राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, आफ्नै क्षेत्रको कुनै प्रतिष्ठित संस्थामा सदस्य रहेको, राष्ट्रिय पत्रिकामा उसको बारेमा सामाग्रीहरु प्रकाशित भएको, कुनै प्रतियोगितामा निर्णायक मण्डलमा रहेर काम गरेको, आफ्नै क्षेत्रको सन्दर्भमा राष्ट्रिय प्रकाशनमा विशेष प्रकारको लेख लेखेको, कुनै विशिष्ट क्षेत्रमा वैज्ञानिक, बौद्धिक, कलात्मक, खेलबाट वा विजनेश सम्बन्धित विशिष्ट योगदान दिएको, कलाकार भएको खण्डमा उसको कला प्रर्दशनीमा राखिएको, कुनै संगठनमा बसेर नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेलेको, आफ्नो क्षेत्रको काममा उच्च तलब प्राप्त गरेको र कलाकार भएको खण्डमा उसले व्यवसायिक रुपमा सफलता प्राप्त गरेको १० वटा बुँदाहरुमध्ये ३ वटामात्रै बुँदा प्रमाणित गर्न सकेको खण्डमा त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ ।
यदि कुनै व्यक्ति कलाकार, पत्रकार वा खेलाडी नभई असाधारण योग्यताको प्राध्यापक वा शोधकर्ता छ भनेपनि उसले असाधारण योग्यताका आधारमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । तर त्यसका लागि उसले विभिन्न ६ वटामध्ये २ वटा कुराहरु प्रमाणित गर्न सक्नुपर्छ । आफ्नो क्षेत्रका आधारमा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, उसको क्षमताका कारण सम्बन्धित संस्थामा सदस्यता प्राप्त गरेको, उसको बारेमा राष्ट्रिय स्तरका संचारमाध्यममा प्रकाशित भएको, आफ्नै क्षेत्रको काममा निर्णायक मण्डलमा रहेर काम गरेको, ओरिजिनल रिसर्च गरेको, आफ्नो क्षेत्रमा पुस्तक निकालेको वा कुनै जर्नलमा लेखहरु लेखेकोमध्ये दुईवटा विषय प्रमाणित गर्न सक्ने प्राध्यापक वा शोधकर्ताले पनि विशिष्ट श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने युएससीआईएसले जनाएको छ । कानुन व्यवसायी खगेन्द्र क्षेत्री भन्नुहुन्छ –‘उत्कृष्ट प्राध्यापक वा शोधकर्ताले ग्रिनकार्डका लागि आवेदन दिंदा उसको क्षमता अमेरिकाको राष्ट्रिय स्वार्थसँग मेल खाने प्रमाणित गर्न सक्नुपर्छ । अन्यथा अमेरिकाबाट रोजगारदाताले जागिरका लागि अफर गरेको पत्र आवश्यक पर्छ । ’
कागजपत्र राम्रोसँग पेश नगर्दा योग्यहरु पनि अस्वीकृत भएका छन्
– रामप्रसाद खनाल, लोक गायक
तपाईले अमेरिकाको ग्रिनकार्ड कसरी पाउनुभएको हो ?
मैले नेपालको लोक र दोहोरी गित क्षेत्रको विशिष्ट श्रेणीको गायक र पत्रकारका हिसाबले एक्स्ट्रा अर्डिनरी क्याटेगोरीमा ग्रिनकार्डको लागि आवेदन दिएको थिएँ । त्यसपछि त्यो आवेदन स्वीकृत भएपछि मैले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको हुँ । म मात्र होइन, अमेरिकामा ठूलो संख्यामा कलाकारिता क्षेत्रका गायक, अभिनेता , अभिनेतृहरुले पनि असाधारण प्रतिभाका आधारमा ग्रिनकार्ड लिनुभएको छ ।
असाधारण योग्यता दावी गर्दैै कैयन बरिष्ठ नेपाली कलाकारहरुको ग्रिनकार्ड आवेदन अस्वीकृत भएका छन् नि ?
अमेरिकाको कानुनले तोकेको मापदण्ड अनुशार प्रमाण पेश गर्न सक्नेहरुले, कागजपत्र पु¥याउन सक्नेहरुले ग्रिनकार्ड प्राप्त गर्नुभयो । तर केही दुखद घटनाहरु पनि छन् । हामीभन्दा बरिष्ठ कलाकारहरु राजाराम पौडेल, गौरी मल्ल लगायतको ग्रिनकार्ड स्वीकृत भएन । त्यसमा दुख लागेको छ । हामीभन्दा बरिष्ठ र हामीले पनि मान्नुपर्ने कलाकार साथीहरुको ग्रिनकार्ड स्वीकृत नहुने तर नयाँ पिंढीका जुनियरहरुले असाधारण प्रतिभाका आधारमा ग्रिनकार्ड प्राप्त गर्ने भएको छ । कागजपत्र राम्रोसँग पेश गर्दा चुकेर र प्रमाण राम्रोसँग पेश नगर्दा अस्वीकृत भएको हो जस्तो लाग्छ ।
असाधारण योग्यताका आधारममा ग्रिनकार्ड लिनका लागि आवेदन दिन चाहने नयाँहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
अमेरिकी सरकारको युएससीआईएसको वेभसाइटमा गएर सबै जानकारी लिन सकिन्छ । मापदण्ड पुरा गर्नका लागि तोकिएका १० वटा बुँदाहरुमध्ये तीनवटा बुँदा प्रमाणित गर्नुपर्छ । हचुवाका भरमा आवेदन दिने होइन कि राम्रोसँग अध्ययन गरेर आवेदन दिनु राम्रो हुन्छ । आवेदन दिंदा तोकिएको मापदण्ड पुरा हुने तरिकाले शिलशिलेवार तरिकाले पेश गर्नुपर्छ । सबै कागजपत्र राम्रोसँग पेश गरेमा नपाउने भन्ने कुरा हुँदैन । अमेरिकामा भनसुन गरेको आधारमा पाउने भन्ने हुँदैन । केही हुनुपर्ने साथीहरुको भएको छैन । कागजपत्र पेश गर्दा राम्रोसँग पेश नगरेका कारण उहाँहरुको आवेदन अस्वीकृत भएको हुनसक्छ ।
-किशोर पन्थीबाट ।







