जनकपुर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने बताएका छन् ।
आइतबार विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘त्यसवेला के के भयो थाहा छैन, मलाई थाहा नै नभएको बारे के भनौँ ?’
सभापति देउवाले अहिले आफूलाई समेत बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताए ।
उनले फरक प्रशङगमा ओली सरकारले दुई तिहाईको दम्भमा हैकमवादी प्रवृत्ति देखाएको भन्दै जनतामाथि हैकम लाद्न खोजेकाले काँग्रेस आन्दोलनको तयारीमा लागेको जनाए ।
उनले वर्तमान सरकारले देशमा संघीयता कार्यान्वयनका लागि कानुन निर्माणबारे छलफल र बहस भईरहेका बेला सूचना तथा सञ्चार क्षेत्रमा बोल्न र लेख्नका सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाउन खोज्नुले ओली संघीयता विरोधी देखिएको बताए ।






