‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र बृद्धभत्ताका थालनीकर्ता कम्युनिष्ट नेता भरतमोहन

Nepal's Finance Minister Bharat Mohan Adhikari poses as he holds up a briefcase containing the new government's budget for the fiscal year 2011/2012 outside the Constituent Assembly Building in Kathmandu on July 13, 2011. The total expenditure for the upcoming fiscal year stands at Nepali rupees 384.90 billion (USD 5.44 billion). Nepal, one of the world's poorest nations, is slowly emerging from a constitutional crisis which fuelled much public anger and a stunted economy. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

– प्रकाश सिलवाल

काठमाडौँ, १९ फागुन (रासस) ः कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो ।

शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएका नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा मानिनुहुन्छ ।

विसं १९९३ वैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मनुभएका उहाँ सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हँुदै अविभाजितकालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय हुनुहुन्थ्यो ।

विसं. २०५१ मा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो ।

मनमोहनको निधनपश्चात पार्टी केन्द्रीय कमिटीद्वारा गठित मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्षका रूपमा २०५६ सालयता उहाँले निरन्तर नेतृत्व प्रदान गर्दै आउनुभएको थियो । प्रतिष्ठानले मोरङको हात्तीमुढामा मनमोहन पोलिटेक्निक स्थापना र सञ्चालनको नेतृत्व गरिरहेको छ, जो नेपालकै उत्कृष्ट पोलिटेक्निकका रुपमा स्थापित छ । प्रतिष्ठानको व्यवस्थित सञ्चालन एवं पोलिटेक्निकको संस्थागत आधार निर्माण र नमूना ढङ्गले सञ्चालनमा उहाँले महत्वपूर्ण र गतिशील नेतृत्व गर्नुभएको मनमोहन स्मृति प्रतिष्ठानका सचिव तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (मनमोहन समूह) हुँदै उहाँ नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा क्रियाशील रहनुभयो । उहाँ विराटनगरमा स्थापित कानून व्यवसायीका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो । अर्थशास्त्रमा स्नातकोत्तर उहाँ बौद्धिक राजनीतिज्ञ हुनुहुन्थ्यो ।

नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उहाँको महत्वपूर्ण योगदान रहेको थियो । “खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसै बेलादेखि आरम्भ भएको थियो । दुई पटक उपप्रधानमन्त्रीसमेत रहिसक्नुभएका उहाँले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।” उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ, “निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उहाँले आफ्नो करीब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतित गर्नुभयो ।”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *