निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन, उपचारका लागि काठमाडौं आउँदै

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् ।

गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।

छोरीको हत्या भएको सात महिना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोखे ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए ।

‘प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन’, उनले भने, ‘अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु प¥यो ।’

धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *