जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएका बाबुराम भट्टराईले भने, ‘देश अनुसारको भेष’

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएका छन् ।

बिहिबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा दौरा सुरुवाल र ढाका टोपी लगाएको फोटो उनले पोष्ट गरेका छन् ।

निलो रङको दौरा सुरुवाल र खैरो कोट लगाएको चारवटा फोटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो !’

उनले दौरा सुरुवाल लगाएको फोटो सामाजिक संजालमा अहिले चर्चाको विषय बनेको छ ।

उनको यी तस्बिरहरुमा मिश्रित प्रतिक्रिया आएको छ । फेसबुक प्रयोगकर्ता ओम बहादुर कटुवालले लेखेका छन्, ‘सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू । राष्ट्रिय पोशाक दौरासुरुवाल हट्दा मेरो मुटुमा गहिरो चोट लागेको थियो तर आज हजुरलाई दौरासुरुवालमा हेर्दा मेरो मुटुको चोटमा मलम लागी तत्काल दर्द कम भयो ।’

अर्का फेसबुक प्रयोगकर्ता प्रेमबिस्ट घायलले लेखेका छन्, ‘आज पहिलोपटक म धेरै खुसी भएको छु । तपाईंलाई नेपालको राष्ट्रिय पोसाकमा उभिनु भएको देख्दा । यो सम्पूर्ण नेपालीहरुको शान पनि हो र सगरमाथाको शिर जस्तै उच्च ढाकाको टोपी शिर बडो गज्जब सुहाउँदो छ ।’

यस्तै, दिलिप कुमार आचार्यले लेखेका छन्, ‘यो पो होनि लाइन आजसम्म लाखौं फोटो हेरियो होला तर नम्बरी फोटो त यहि लाग्यो डाक्टर साहेब हो यहि हो हाम्रो पहिचान ।’

उनलाई धेरैले दौरा सुरुवाल सुहाएको भनेर कमेन्ट गरेका छन् भने कतिले दौरा सुरुवालमा जुत्ता (स्पोर्टस् सुज) नसुहाएको पनि टिप्पणी गरे ।

कुर्ता सुरुवालमा देखिएकी हिसिला यमीले पनि सारी लगाएको भए हुनेथियो भनेर पनि धेरैले कमेन्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *