आज विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी श्रीपञ्चमी पर्व मनाईँदै

काठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।

शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन्।

आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ।

राजधानीको स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लाग्ने गर्दछ। मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ।

शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ। भोलिबाट शिशीर ऋतुको समाप्ति र वसन्त ॠतुको सुरुवात हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *