पाण्डेलाई अदालतमा पेश गरिने

भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डेलाई आज अदालत पेश गरिँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हिजोसाँझ बालुवाटारस्थित निवासबाट पाण्डेलाई पक्रेको थियो । आज कार्यालय खुलेपछि अदालतमा बुझाइने ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लले बताउनुभयो । हिजोरात परेकोले अदालत पेश गरिएको थिएन । सर्वाेच्च अदालतले पुरानो भ्रष्टाचार मुद्दामा तत्काल पक्राउ नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश खारेज गरेको केही समयपछि नै पाण्डेलाई पक्राउ गरिएको हो । अध्यक्ष पाण्डे तत्कालीन खानेपानी तथा ढल निकास विभागमा कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा पाण्डेलाई अदालतले दोषी ठहर गरे पनि तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट सजायँ मिनाहा गरिएको थियो । तर, पाण्डे उद्योग वाणिज्य महासंघको अध्यक्ष भएलगत्तै ३० बर्षअघिको मुद्दा व्युँतिएको थियो ।