गोपाल खड्काको भ्रष्टाचारको काइदा : अमिताको नाममा करोडौँको सम्पत्ति, चन्दा मात्रै १ करोड बढी

काठमाडौँ- नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदमा रहँदा गैरकनुनी रुपमा कमाएको सम्पत्ति अर्कैको नाममा राखेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख ५ हजार रुपैयाँ भ्रष्टाचार गरेर कमाएको अख्तियारको अनुसन्धानबाट खुलेपछि खड्काविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमति शर्मिला खड्का, अमिता लामा सोम्बाका नाममा लुकाएर राखेको पनि पाइएको हो ।

को हुन् अमिता लामा सोदेम्बा ?

अख्तियारका अनुसार तेह्रथुमको जिरीखिम्ती गाविस वडा नं २ घर भई बूढानीलकण्ठ वडा नम्बर ४ बस्ने अमिता लामा सोदेम्बा कृष्णबहादुर लामाकी छोरी तथा दिपक सोदेम्बाकी श्रीमती हुन् ।

खड्काले अवैध रुपमा कमाएको सम्पत्तिमध्ये सात करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिता लामाको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेको छ । अख्तियारका अनुसार लामाका नाममा एनएमवी बैंकमा रहेको खाताबाट खड्काले नै कारोबार गर्ने गरको खुलेको हो ।

त्यस्तै खड्काले साविक गैरकानुनी रुपमा कमाएको रकमबाट महांकाल गाविस ४ स्थित १९१ मा सिजी डेभलपर्सका नाममा ३ करोड २५ लाख बराबरको घर खरिद गरेको भेटिएको छ ।

त्यसैगरी काठमाडौं साबिक विष्णु बुढानिलकण्ठ गाविस ३ मा ६८९, १४८२ र १५२० कित्ता नम्बरको आठ आना जग्गा ४० लाख ११ हजार ८७५ मा खरिद गरेको भेटिएको छ । खड्काले ८४ लाख ४६ हजारमा टक्सन गाडी खरिद गरेको तथा सिजी डेभलपर्सलाई घर खरिद गर्न ३ करोड ५० लाख भुक्ताी दिएको भेटिएको छ ।

१८ करोड ६६ लाखको स्रोत खुलेन

अख्तियारले गरेको अनुसन्धानमा खड्काले सार्वजनिक सेवा प्रवेश गरे पश्चात समग्र आयको रुपमा ८ करोड ६४ लाख ६९ हजार ७ सय ७१ रुपैयाँ आर्जन गरेको देखिएको छ ।

तर, २०६९ साल चैत २ देखि अनुसन्धान अवधिसम्ममा खड्काको खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ फेला परेको छ ।

खड्काको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न सकेन ।

यस्तो छ खड्काको खर्च र लगानी

– पुर्ख्यौली घरबाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको

– काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद

– निजले घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ लगानी गरेको

– विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख ४ हजार रुपैयाँ खर्च

– ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९ रुपैयाँ खर्च

– व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार रुपैयाँ दिएको

– विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ हजार रुपैयाँ

– छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५ लाख १४ हजार ६९५ रुपैयाँ

– गाडी खरिदमा रु १ करोड १७ लाख ४२ हजार रुपैयाँ

– एटिएमबाट सुपरमार्केटहरूमा खर्च गरिएको रकम १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ

– विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *