चीनका राष्ट्रपति शी जिनपिंगले ताइवानका नागरिकलाई ताइवान चीनसँग सम्मिलित हुनैपर्ने र यो जसरी पनि एक भएरै छाड्ने कुरालाई स्विकार गर्नुपर्ने बताएका छन् ।
ताइवानसँग सम्बन्ध सुधार्ने पहलको ४० वर्ष पुरा भएको उपलक्ष्यमा दिइएको भाषणमा जिनपिंगले चीन एक देश दुई प्रणाली व्यवस्था अनुरुप शान्तिपूर्ण एकीकरण चाहेको दोहोराएका छन् ।
चीनसँग आफ्नो शक्ति प्रयोग गर्ने अधिकारसमेत रहेको उनले चेतावनी दिएका छन् । यद्यपी, ताइवान स्वयं शासित र वास्तविक रुपमा स्वतन्त्र छ तर आफू कहिले पनि चीनबाट स्वतन्त्र भएको घोषणा भने ताइवानले गरेको छैन ।
चीनले ताइवानलाई आफूबाट अलग्गिएको हिस्सा ठान्छ । यसकारण जिनपिङको बयानले चीन र ताइवानलाई मिलाउने पुरानो नीति प्रष्ट पार्छ ।
जिनपिङले भने, ‘दुबै पक्ष एकै चीनियाँ परिवारका हिस्सा हुन् र ताइवानी जनताले यो बुझ्नु पर्छ कि स्वतन्त्रताले समस्या मात्र निम्त्याउँछ ।’
उनले चेतावनी दिँदै भने, ‘ताइवानी स्वतन्त्रतालाई उक्साउने कुनै पनि गतिविधिलाई चीनले सहने छैन ।’
यसका साथै उनले ताइवानसँगको उसको सम्बन्ध चीनको घरेलु राजनीतिको हिस्सा भएको कुरामा जोड दिए र यसमा विदेशी हस्तक्षेप नसहिने बताएका छन् ।
ताइवानको भनाई के छ ?
बुधबार ताइवानकी राष्ट्रपति साई इंग–वेनले उनको देश चीनको शर्तको आधारमा कहिले पनि एकीकरणका लागि तयार हुनेछैन ।
जिनपिङको भाषणको अघिल्लो दिन ताइवानकी राष्ट्रपतिले चीनले ताइवानको अस्तित्वलाई स्विकार गर्नुपर्ने र मतभेद सुल्झाउनका लागि शान्तिपूर्ण साधनको प्रयोग हुनुपर्ने बताएकी छिन् ।
साईले भनिन्, ‘म चीनलाई भन्न चाहन्छु कि उसले ताइवानमा चीनियाँ गणराज्यको अस्तित्वको वास्तविकता सामना गरोस् ।’
‘चीनले २.३ करोड जनताको स्वतन्त्रता र लोकतन्त्रको सम्मान गर्नुपर्छ र शान्तिपूर्ण तरिकाले मतभेद सुल्झाउनु पर्छ,’ उनले भनिन् ।
‘पिपल्स रिपब्लिक अफ चाइना’ र ‘रिपब्लिक अफ चाइना’ ले एक अर्काको सम्प्रभुतालाई मान्यता दिँदैन । दुबैले आफूलाई आधिकारिक चीन मान्दै मेनल्याण्ड चाइना र ताइवान द्वीपलाई आधिकारिक प्रतिनिधी भएको दाबी गर्छन् ।
जसलाई हामी चीन भन्छौं त्यसको आधिकारिक नाम ‘पिपल्स रिपब्लिक अफ चाइना’ हो र जसलाई ताइवानको नामले चिन्छौं, उसको आफ्नो आधिकारिक नाम हो ‘रिपब्लिक अफ चाइना’ हो । दुबैको नाममा चाइना जोडिएको छ ।
व्यवहारिक रुपमा ताइवान यस्तो द्वीप हो जुन सन् १९५० देखि नै स्वतन्त्र छ । तर चीन यसलाई आफ्नो विद्रोही राज्य मान्छ । एकातर्फ ताइवान आफूलाई स्वतन्त्र र सम्प्रभु राष्ट्र मान्छ भने चीनले भने ताइवान चीनसँग सम्मिलित हुनपर्ने चाहना राख्छ ।
एजेन्सी






