रानीबारी काण्डका हत्यारा सार्वजनिक

रानीबारीमा १२ वर्षअघि एक दम्पत्तीको हत्या गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले पक्राउ गरेका दुई अभियुक्तमा सामाखुसीका मनराज गुरुङ र जोरपाटीका प्रमेश चौहान रहेका छन्। दुवैलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरुले दुई लाख सुपारी लिएर दम्पत्तीको हत्या गरेको खुलासा भएको छ। वैदेशिक रोजगारीमा संलग्न व्यवसायी गीता खड्काको हत्याका लागि सुपारी लिएका उनीहरुले सूचना लिक नहाेस् भनेर तल्लो तलमा रहेका इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। प्रहरीले पत्रकार सम्मेलन गरी दुवै अभियुक्‍त सार्वजनिक गरेको हो ।
२०५९ असार ३१ गते बिहान रानीबारीमा एक दम्पत्तीको ओछ्यानमै खुकुरी प्रहार गरी वीभत्स हत्या गरिएको थियो। हत्याराले इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या गरेपछि बालिकालाई हत्या प्रयास गरेका थिए।
खकुरी प्रहार गरी घाइते भएकी बालिका आज्ञाश्री उपचारपछि सामान्य अवस्थामा आएकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले निकै लामो अनुसन्धान र निरन्तरको प्रयासपछि  अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको र  आजै सार्वजनिक गरिने बताए।
घटनाको छानबिन तथा अभियुक्तको खोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको थिएन । रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना पनि भएको थियो ।