काठमाडौं, ३० फागुन । प्रमुख तीन दल र मधेसी मोर्चा सहितको आज हुने भनिएको निर्णायक वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । वार्तामा चार पक्षबिचको छलफलमा सहमति हुन नसकेपछि दलहरुले अहिले छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
चारपक्षको वार्तापछि एमालेका उपाध्यक्ष वामदेव गौतमले आजको प्रारम्भिक छलफलमा दलहरुबिच सहमति हुन नसकेपछि औपचारिक रुपमा संवाद हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“ हामीले सात प्रदेशको कुरा राख्यौं, उहाँहरुले जातीय प्रदेशको कुरा राख्नुभयो, त्यसैले संवाद अगाडी बढ्न सकेको छैन । ”
उहाँले सहमतिका लागि आफुहरु अझै लचकता अपनाउन तयार रहेको बताउँदै सहमति हुन नसक्ने अवस्थामा संविधानसभाको प्रक्रिया अगाडी बढ्ने स्पष्ट पार्नुभयो । एकीकृत नेकपा(माओवादी)का सचिव वर्षमान पुनले सत्तारुढ दलले कुनै पनि विषयमा लचकता नअपनाएको आरोप लगाउँदै वार्ताका नाममा आफूहरुलाई अल्मल्याउन खोजेको बताउनुभयो ।
एमालेका उपाध्यक्ष भिम रावलले सहमतिको प्रयास जारी रहेको बताउँदै दलहरुबीच अहिले छुट्टाछुट्टै छलफल चलिरहेको उल्लेख गर्नु भयो । बैठकमा काँग्रेस, एमाओवादी र मधेसी मोर्चाका पार्टी प्रमुखकै उपस्थिति रहेपनि एमालेबाट अध्यक्ष केपी ओलीबाहेकको शीर्ष नेतृत्वको उपस्थिति रहेको छ ।
सहमतिको प्रयास जारी






