राजकुमार थापा/भगवान गिरी
लिस्बो । पोर्तुगलको नेपाली समुदायमा एकपछि अर्को गर्दै दु:खद घटनाहरु घटेका छन् । एकजना नेपाली महिला मिरा पराइ नेपालीको असामयिक निधन भएको एघार दिन पूरा नहुदै अर्की एक नेपाली महिलाको पोर्तुगलको सान्ताराइ हस्पिटलमा दु:खद निधन भएको छ ।
गोर्खा जिल्ला घर भइ छ महिना अघि पोर्तुगल आउनु भएकी ६९ बर्षिय भद्रीमाया थापाको मस्तिष्कघात भइ हिजो डिसेम्बर १३ तारिख राति ११ बजे सातराइ हस्पिटलमा निधन भएको नेपाल मगर संघ पोर्तुगलका अध्यक्ष चोपकुमार पुनमगरले पुष्टि गरे ।
उनी आफ्ना जेठा छोरा राम थापा मगरलाई भेट्न छ महिना अघि पोर्तुगल आएकी थिइन । उनका छोरा राम थापामगर बिगत ७ बर्षदेखि पोर्तुगल बस्दै आएका छन् ।
डिसेम्बर ११ तारिख साँझ करिब छ बजेतिर लिस्बोनस्थित आफ्नै निवासमा उनलाई मस्तिष्कघात भएको थियो, त्यसपछि तत्काल उनका छोराले नजिकैको मार्तिमुनिजको सेन्ट जोंसे हस्पिटल पुर्याएका थिए । त्यहाँ उनको उपचार असम्भव भएपछि उनलाई सान्तराइ हस्पिटल रिफर गरिएको थियो ।
सान्तराइ हस्पिटलले उपचार शुरु गरेपनि उनका रक्त नलीहरु फुटेर शरीरभरि रक्तस्राव देखिएकोले उपचार असम्भव भएको निष्कर्षसहित अट्चालिस घण्टा पश्चात् उनलाई हिजो राति मृत घोषणा गरिएको हो ।
मृतक भद्रीमाया थापामगरका छ छोरा र दुई छोरी रहेका छन् । उनका श्रीमानको भने पहिल्यै निधन भइसकेको जनाइएको छ ।
यसैबीच एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा एकपछि अर्को दु:खद घटना घटेकोमा दु:ख व्यक्त गर्दै शोकाकुल परिवारजनमा सबैखाले सहयोग पुर्याउन एनआरएनए पोर्तुगल तत्पर रहेको बताएका छन् । मगर संघ पोर्तुगलका अध्यक्ष चोपकुमार पुनमगरले पनि सिङ्गो संघ परिवार सहयोग पुर्याउन सम्पुर्णरूपमा लागिपरेका जानकारी दिएका छन् ।
मृतकको पोर्तुगलमै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतबाट जानकारी प्राप्त भएको छ






