तमु धीं युकेले ‘ल्होछार’ धुमधामले मनाउँदै

लन्डन । तमु धीं युकेले सदा झैं यस वर्ष पनि आगामी डिसेम्बर ३० तारिख आइतवार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा तमु (गुरुङ) हरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक महान पर्व ‘फो ल्होछार’ धुमधामसंग मनाउने भएको छ ।

बेलायतमा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा, भाषा, संस्कार संस्कृति तथा परम्परा बचाई राख्ने उद्देश्यसहित समाजले यो पटक पनि खी-ल्हो (कुकुर वर्ग) लाई विदाई र फो-ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र हजारौंको सहभागीता रहने कार्यक्रम संयोजक एवं नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले जनाए । अध्यक्ष ज्ञाम गुरुङका अनुसार कार्यक्रमका प्रमुख अतिथी भने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहने जनाए ।

तमुधिं युकेको यसपटकको ल्होछारमा नेपालबाट गायक टंक बुढाथोकी, गायिका अनु गुरुङ र गायक गोविन्द गुरुङलाई निमन्त्रणा गरेका छन् ।

त्यसबाहेक कार्यक्रममा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिनुका साथै अन्य स्थानीय कलाकारका गीत, नृत्यसहित विशेष प्रस्तुति रहने भएको छ ।

उक्त अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत हुनेछ । सोही अवसरमा तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ सहितको नयां कार्यसमितिलाई औपचारिक रुपमा नयां नेतृत्व ग्रहण गर्नेछ ।

आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *