काठमाडौं‌- भर्खरै १९ वर्षमा टेकेकी सुहाना (नाम परिवर्तन) कक्षा १२ मा अध्ययनरत छिन्। कलेजका अरु साथीझैँ उनलाई पनि आफ्नो अनुहारमा मेकअप तथा अन्य सौन्दर्य प्रशाधन लगाएर सुन्दर र आकर्षक देखिन मन छ।

मनको सौन्दर्यलाई भन्दा अनुहारको सौन्दर्यलाई बढी महत्व दिने यो समाजमा उनलाई पनि आफ्नो सुन्दर अनुहार देखाएर मुस्कुराउने रहर छ। स्वभाविक रुपमा अरु साथीलाई केटाहरुले जिब्रो पड्काउँदै ‘वा क्या राम्री !’ भनेर जिस्काए झैँ उनलाई पनि जिस्काए हुन्थ्यो भन्ने लागेको छ।

तर, सुहानाका यी रहर र चाहना पूरा हुन सकिरहेको थिएन।

दाँतको समस्याले उनको मुख नै बांगिएको र बन्द नै नहुने समस्या थियो। अनुहार बिग्रिएका कारण उनलाई जहाँ जाँदा पनि मास्क लगाएर हिँड्नुपर्ने बाध्यता थियो।

यहाँसम्मकी घरभित्र एक्लै हुँदा पनि ऐनामा राम्रोसँग हेर्न सक्दिन थिइन्। ऐना हेर्दै सोच्थिन्, ‘आफ्नो बांगिएकोे अनुहार कहिले ठिक होला र मुस्कुराउँदै बाहिर हिँड्न पाइएला?’

तर, अब उनी मुस्कुराउन थालेकी छिन्। उनको अनुहारबाट मास्क हटिसकेको छ। खुसीको सौन्दर्य छाइसकेको छ।

वीर अस्पतालमा दाँतको समस्याले बन्द नहुने र बांगिएको उनको अनुहारको सफल उपचार भएको छ। अस्पतालमा उनको अर्थोग्नेथिक सर्जरी भएको हो। शल्यक्रियापछि उनी मुस्कुराउन थालेकी छिन्।

२० वर्षीय सृजन केसी (नाम परिवर्तन) को व्यथा अझै रोचक छ। उनको सानैमा काननिर पिप निस्केको थियो।

छिमेकी र गाँउलेले सुझाव दिए, ‘यो समस्या समाधान गर्न मसानघाटमा लगेर हड्डीले कानमा डाम्नुपर्छ।’

सुझाव गलत थियो, तर त्यो समयमा उक्त सुझाव गलत भनेर कसैले भन्न सकेनन्।

सृजनका अभिभावकले छिमेकी र गाउँलेकै सुझावअनुसार उनलाई मसानघाट लगे। घाटमा रहेको मानिसको हड्डीले उनको कानमा डामियो। उनको समस्या समाधान भएन। बरु उल्टै संक्रमण बढ्यो। हड्डीले डामिएको ठाँउबाट बढेको संक्रमण उनको अनुहारको हड्डीसम्म पुग्यो। संक्रमणका कारण उनमा मुख नै बन्द नहुने समस्या देखियो।

उनी अहिले उपचारका लागि वीरमा आइपुगेका छन्। वीरमा उनको अर्थोग्नेथिक सर्जरी गर्ने तयारी भएको छ।

वीर अस्पतालमै अर्थोग्नेथिक शल्यक्रियाको उपचारमा छन् अर्का एक युवा पनि। उनलाई सानैमा भैँसीले अनुहारमा कुल्चिदिएको थियो। तत्काल उनको सामान्य उपचार त भयो। तर, भैँसीले कुल्चिएर अनुहारको हड्डी फ्याक्चर हुँदा उनको पनि मुख बांगिएको थियो। यो शल्यक्रियापछि उनको अनुहार पनि धेरै राम्रो हुने र बांगिएको हड्डी सिधा हुने बताइएको छ।

अस्पतालमा कार्यरत अर्थोडेन्टिस्ट डा मनिष बज्राचार्य, म्याक्जिलोफेसल सर्जन डा किशोर भण्डारीसहितको टिमले उपचार सम्भव छ भनेपछि उनको अनुहारमा खुसीको चमक छाएको छ।

०००

डा बज्राचार्यका अनुसार वीर अस्पतालमा हालसम्म पाँच जनाको मात्र अर्थोग्नेथिक सर्जरी भएको छ। जसमध्ये ४ जनाको म्यानुएल्ली अर्थात हातैले शल्यक्रिया गरिएको थियो। तर, केही दिनअघि मात्र वीरमा कम्प्युटरको सहयोगबाट नयाँ प्रविधिमार्फत अर्थोग्नेथिक सर्जरी भएको छ।

सफ्टवेयरबाट गरिने उक्त प्रविधिलाई कम्प्युटर एसिस्टेड सर्जरी सिमुलेसन (कास) भनिन्छ।

डा बज्राचार्यका अनुसार यो प्रविधिबाट भएको शल्यक्रिया सम्भवत नेपालमा नै पहिलो हो। २५ वर्षका एक युवामा नयाँ प्रविधिमार्फत सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए।

ती बिरामीको मुखको तलको भागको हड्डी धेरै बाहिर आएका कारण अनुहार नै कुरुप देखिन्थ्यो। दाँतको हड्डी बाहिर आएकाले चपाएर खान पनि निकै गाह्रो हुन्थ्यो।

‘यो समस्याको उपचारका लागि उहाँ धेरैतिर पुग्नु भएको रहेछ,’ डा बज्राचार्यले भने, ‘यहाँ उपचार हुन्छ भन्ने सुनेपछि आउनुभएको थियो। हामीले नयाँ प्रविधिबाट उहाँको सफल शल्यक्रिया गरिसकेका छौं। केही समयको आरामपछि उहाँ ठिक हुनुहुनेछ।’

शल्यक्रियापछि ती बिरामीको अनुहार निकै राम्रो देखिएको डा बज्राचार्यले जानकारी दिए।

कस्तो समस्यामा यो सर्जरी गर्नुपर्ने हुन्छ?
डा बज्राचार्यका अनुसार विभिन्न कारणले मुख बांगिएको, मुख खोल्न नसक्ने, मुख बन्द नै नहुने, दाँतले जति कोसिस गरे पनि टोक्नै नसक्ने, चिउँडो भित्र गएको, तलको दाँत बाहिर आएको, हाँस्दा गिजा एकदमै धेरै देखिने, अगाडिको दाँतबाट खाना खानै नसक्ने लगायतका समस्यामा यस्तो शल्यक्रिया गर्नुपर्ने हुन्छ।

यी समस्याहरु धेरैजसो विभिन्न दुर्घटना, संक्रमण तथा वंशाणुगत कारणले भएको पाइएको छ। यसका अलवा अन्य थुप्रै कारणले पनि यी समस्या आउन सक्छन्।

शारीरिक सुन्दरता बिग्रिएका कारण यस्तो समस्या भएका बिरामीको आत्मविश्वास गिर्नुका साथै मानसिक तानव दिने गर्छ। आफू सुन्दर नभएको अभास गर्नु, अरुको अगाडि प्रत्यक्ष रुपमा कुरा गर्न नसक्नु आदि समस्या भोगिरहेका हुन्छन्।

डा बज्राचार्यका अनुसार धेरैलाई यस्तो समस्याको उपचार हुन्छ भन्ने जानकारी समेत नहुँदा मानिसहरु समस्या लिएर चिन्तामा बसिरहेका छन्। उपचारका विषयमा जानकारी भएका र राम्रो आर्थिक हैसियत भएकाहरु भने विदेशका अस्पतालमा समेत पुगेका छन्।

तर, वीर अस्पतालमा नै नयाँ प्रविधिबाट उपचार सुरु भएकाले विदेशमा उपचार गर्न जानुपर्ने बाध्यता भने हटेको डा बज्राचार्य बताउँछन्। वीरमा अहिले १५ जनाभन्दा बढी यो शल्यक्रियाका लागि लाइनमा बसेका छन्।

सानो उमेरमा यो समस्या देखिए पनि यो शल्यक्रिया भने १८ वर्ष पूरा भएपछि मात्र गर्न मिल्छ। शरीरका हड्डीको वृद्धि भइसकेको अवस्थामा मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ। बिरामीको हड्डी कति उमेरसम्म बढ्छ वा बढ्दै थाहा पाउन आवश्यक जाँच गरिन्छ। यसमा एक्सरे, जुत्ता तथा पाइन्टको आकार चेक गर्ने लगायतका अन्य कुराहरु पर्छन्।

के हो अर्थोग्नेथिक शल्यक्रिया?
दाँत तथा अनुहारको हड्डीमा आएको समस्याले बिग्रिएको अनुहारलाई उपचार गर्नुका साथै अनुहारलाई सुन्दर बनाउने शल्यक्रिया नै अर्थोग्नेथिक शल्यक्रिया हो। अर्थात अनुहारको संरचना नमिलेको समस्यालाई शल्यक्रियामार्फत मिलाउने उपचार नै अर्थोग्नेथिक शल्यक्रिया हो। अरु समस्यामा जस्तो यसमा तुरुन्तै शल्यक्रिया गर्न मिल्दैन। यो शल्यक्रिया गर्नुअघि बिरामीको दाँतलाई डेढ वर्षसम्म तारले बाँधेर राखिन्छ। डाक्टरको निगरानीमा रहेका ती बिरामीलाई त्यसपछि मात्र शल्यक्रियामा ल्याइन्छ।

अर्थोग्नेथिक सर्जरी पहिलोपटक सन् २००९ मा वीर अस्पतालमा सुरु भएको थियो। सुरुमा यो सर्जरी दुई जना बिरामीमा भएको थियो। त्यसपछि लामो समय यो सेवा बन्द हुन पुग्यो। त्यतिबेला यो सर्जरी म्यानुएल्ली गरिन्थ्यो अर्थात हातैले गरिन्थ्यो। तर, वीरमा अब सफ्टवेयरबाट गरिने कम्प्युटर एसिस्टेड सर्जरी सिमुलेसन प्रविधिबाट सर्जरी गर्न सुरु भएको छ।

सफ्टवेयरबाट गर्ने शल्यक्रिया वीरमा नेपालमै पहिलो पटक सुरु

डा.मनिष बज्राचार्य
हातले गर्ने शल्यक्रिया वीर अस्पतालसहित धुलिखेल अस्पतालमा पनि हुन्छ। तर, सफ्टवेयरले गर्ने यो आधुनिक शल्यक्रिया नेपालमा हामी (वीर अस्पताल) नै पहिलो हो। पहिला हामीले पनि हातले नै यो शल्यक्रिया गथ्र्यौँ। अब अत्याधुनिक प्रविधि सुरु भएको छ। पहिला हातले शल्यक्रिया गर्दा हड्डी काट्दा छालामा कस्तो परिवर्तन आउँछ भनेर थाहा हुँदैनथ्यो। तर, अब कम्प्युटरमा हेर्दा स्पष्ट हुन्छ। कम्प्युटरमा कस्तो परिवर्तन आउँछ त्यो मज्जाले देखाइदिन्छ। वीरमा प्राविधिक कारणले रोकिएको शल्यक्रिया सेवा अब फेरि सुरु भएको छ। यहाँको टिम पनि बलियो छ। टिमको सहकार्यले नै यो सफल भएको हो। अहिलेसम्म प्राइभेटले पनि गर्न नसकेको काम वीर अस्पतालले गरेर देखाएको छ।

हातले शल्यक्रिया गर्दा निकै अप्ठ्यारो हुन्थ्यो। हड्डी त तान्थ्याँै तर बाहिरको छाला ठ्याक्कै कति भित्र र कति बाहिर आउँछ भन्ने थाहा नै हुँदैनथ्यो। अब कम्प्युटर डिजिटल प्रविधिले जति मात्रामा आवश्यक हड्डी र छाला तान्ने तथा काट्नु पर्ने हो त्यो सहज रुपमा गर्न सकिन्छ।

डेन्टलमा पनि ९ वटा विधा हुन्छ। तीमध्ये यस सर्जरीमा दुई वटा कुरा जोडिन्छ। एउटा अर्थोडन्टिस्ट। त्यो भनेको दाँतमा बे्रसेज लगाउने हो। जसलाई तार बाँध्ने पनि भनिन्छ। अर्को चाहिँ ओरल सर्जरी हो। सुरुमा तयारी गरेर तार बाँधिदिन्छौँ। करिब डेढ वर्षपछि सर्जरीमा लग्छौँ बिरामीलाई। सर्जरी लगभग ५ घन्टा जति लाग्छ। ४–५ दिनमा डिस्चार्ज गरिदिन्छाँै। हरेक महिनाको १५–२० दिनमा घाउ सफा गर्नुपर्छ। नत्र संक्रमण हुने सम्भावना हुन्छ। सर्जरी गरेको १ महिनासम्म खान चपाउन मिल्दैन। सेमी–सोलिड मात्र खान सक्छ।

यो नयाँ जीवन दिने प्रविधि हो  

डा किशोर भण्डारी 
हामीले अहिले प्रयोगमा ल्याएको सफ्टवेयर हाम्रो आफ्नो होइन। यो सफ्टवेयरका लागि २० देखि २५ लाख पर्छ। चीनको प्राध्यापकसँग हामीले यो सफ्टवेयर मागेको हो यो। हामीसँग त्यो सफ्टवेयर भयो भने आत्मनिर्भर हुन्थ्यौँ। यसलाई हामीले कम्युटर एसिसटेड सर्जरी सिमुलेसन सफ्टेवयर भन्छाँै। यो नभएर सर्जरी रोकिने त होइन तर हामीले हातैले गर्नुपर्ने हुन्छ।

डिजिटलमा बिरामी तथा उसको परिवारलाई भित्रको संरचना देखाइदिन सजिलो हुन्छ। अनुहारमा यति परिवर्तन हुँदो रहेछ है भन्न मिल्थ्यो। परिवारले पनि हड्डी नै काट्ने भनेर डराइराखेका हुन्छन्। नयाँ प्रविधिबाट शल्यक्रिया पूर्वको भिडियो देखाइदिन्छाँै। कम्प्युटरले  हड्डी तानेपछि ओठ कति चल्छ, नाक कति चल्छ भनेर देखाइदिन्छ।

हामीले मागेर भए पनि सुरु गरेर देखायौँ। तर,अब सरकारले पनि यसमा चासो देखाउनुपर्छ। सरकारले सफ्टवेयर किन्न सहयोग गर्नुपर्छ। source : swasthya patrika

फेसबुक कमेन्ट