काठमाडौं, २९ फागुन । बिहान ८ बजे रत्नपार्क आइरहेको बा२ख नम्बरको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए। प्रहरीका उच्च हाकिमले नै गाडी रोकाएपछि गाडी चालक आफ्नो केही गल्ती भएको हो कि भनी चिन्तित देखिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्द आफ्ना सहयोगीसहित सरासर गाडीभित्र चढे। र दोस्रो लहरमा बसे।
गाडी चालक अक्क न बक्क भए। प्रमुख चन्दले गाडी चलाउन आग्रह गरेपछि गाडी पुरानो बसपार्कतिर हुइँकियो। गाडीमा प्रमुख चन्दले महिला सिटमा नियमित रुपमा बस्न पाएको वा नपाएको बारे महिलाहरुसँग सोधपुछ गरे। त्यस्तै गाडी चालकसँग उनीहरुका अप्ठेराबारे पनि जिज्ञासा राखे।
आरक्षण सिटमा बस्न आग्रह गर्दा यात्रु झगडा गर्न खोज्ने, ओर्लिएर हिँड्न खोज्ने, खुद्रा पैसा नहुँदा पैसा फिर्ता गर्न समस्या हुनेलगायत समस्या रहेको गुनासो गाडी चालकले चन्दसमक्ष राखेका थिए। माइक्रोबसले भाडा बढी लिने, आरक्षण सिटको पालना नहुने, यात्रु कोचाएर राख्ने, यात्रुसँग दुर्व्यवहार गर्नेलगायत समस्या सार्वजनिक सवारीका साधनमा हुने गरेको गुनासो रहेको छ।
आफू सवार माइक्रोबस पुरानो बसपार्क आइसकेपछि चन्दले गाडी भाडा दिन खोज्दा गाडी चालकले सहचालकलाई भाडा नलिन भने। चन्दले भाडा लिनु र दिनु कर्तव्य भएको बताए। उनले आफ्ना सहयोगी र आफ्नो गरी रु १८ का दरले रु ३६ भाडा तिरे। त्यसपछि उनी सरासर रामशाहपथतिर लागे।
काठमाडौं उपत्यकास्थित ट्राफिक प्रहरी एकाइमा कार्यरत सबै तहका ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाट घर वा डेरा फर्किँदा आजदेखि हरेक शुक्रबार अनिवार्य रूपमा सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने निर्णयअनुरुप आज चन्दले सार्वजनिक सवारीसाधन चढी आफ्नो घर हात्तीगौँडाबाट रामशाहपथस्थित कार्यालयमा आएका हुन्।
ट्राफिक प्रमुख चन्द सार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यसहित अभियान सुरु गरिएको र यसलाई निरन्तरता दिइने बताउँछन्। ‘साझा यातायातमा ६० जना यात्रु अटाउँछन् तर तीन वटा कारमा १५ जना मात्रै यात्रु अटाउँछन्, धेरै निजी सवारीसाधनलाई उपत्यकाको सडकले धान्न सक्ने अवस्था छैन, त्यसैले सबैलाई सार्वजनिक सवारीमा आकर्षण बढाउन सक्नुपर्छ’, उनले भने।






