शिव भण्डारी
लण्डन । नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा येति नेपाली एशोसिएसन यूकेद्वारा आयोजित च्यारिटी कार्यक्रम लण्डनमा सम्पन्न भएको छ ।
नेपालका दुर्गम भेगका विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यले गायक हेमन मोक्तानले सुरु गरेको अध्यारोबाट उज्यालोतिरको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियानको उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले युवा गायक मोक्तानले अगुवाई गरेको परोपकारी अभियानबाट प्रभावित बनेर व्यस्तताको बाबजुद पनि कार्यक्रममा सहभागी हुन बेलायतसम्म आएको बताए ।

विश्वका विभिन्न देशका नेपालीहरुमाझ पुगेर सहयोग जुटाउने अभियानको सफलताको लागि उनले शुभकामना दिए । एकपटकको नेपाली, सधैको नेपाली भन्ने गैरआवासीय नेपालीहरुको भावनाअनुसार नेपालको संिवधानले गैरआवासीय नागरिकता व्यवस्था गरिसकेको उल्लेख गर्दै नेपालले भने, नागरिकता त व्यवस्था भयो तर पुस्तौंसम्म पनि नेपाली रहिरनको लागि विदेशमा बस्ने सबै नेपालीहरुले आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति तथा पहिचानबाट टाढा हुन नदिन विशेष ध्यान दिन जरुरी छ ।
विश्वको जुनसुकै कुनामा रहनेपनि आफ्नो देश र मातृभुमिप्रति सबै नेपालीहरुको दायित्व रहने उनले बताए । तर नेपाललाई मात्र गरेर पुग्दैन । तपाई आफु बसेको समाज र देशमा पनि भिज्नुहोस, मेहनत गर्नुस् र त्यो समाजको सेवा गर्नुहोस्, नेता नेपालले भने, यसरी विदेशमा तपाईहरुले हासिल गर्ने सफलताबाट तपाईको मात्र नभएर सिंगो नेपालको प्रतिष्ठा उचो हुनेछ ।
भूपू गोर्खाहरुका समस्याप्रति नेपाल सरकार गम्भीर रहेको बताउंदै पूर्व प्रधानमन्त्री नेपालले समस्या समाधानको लागि बेलायतसंग कुटनीतिक पहल सुरु भइसकेको र अब छिट्टै निश्कर्ष निस्किने विश्वास व्यक्त गरे । तर, विदेशी सेनामा नेपाली महिलाहरु भर्ती गर्ने विषय हाम्रो देशको लागि उपयुक्त हुंदैन । न हाम्रा दिदीबहिनीहरु हामीले पठाउन मिल्छ, न उनीहरुले माग्न मिल्छ । यसबारेमा आवश्यक अध्ययन, परामर्श गरेर उचित निर्णयामा पुग्नुपर्छ , नेपालले भने । त्यसअवसरमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रममा पूर्व प्रधानमन्त्रीको उपस्थितिले बेलायतस्थित नेपाली समुदायभित्र रहेको आपसी एकता, सद्भाव र भाइचाराको भावनालाई कदर गरेको धारणा राखे ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले थौरेले गरेको धेरै भन्दा धेरैले गरेको थोरै सहयोग बढि प्रभावशाली हुने भन्दै गायक मोक्तानको अभियानमा सघाउन सबैलाई आव्हान गरे । कार्यक्रममा हेमन मोक्तान फाउण्डेसनका सञ्चालक गायक हेमन मोक्तानले विपन्न बालबालिकाको शिक्षामा सघाउन आफुले सुरु गरेको अभियान बेलायतमा उद्घाटन गर्न पाउंदा निकै खुशी व्यक्त गरे । आफ्नो अभियानमा हौसला प्रदान गर्ने पूर्व प्रम नेपाल, आयोजक यति नेपाली एशोसिएसन तथा बेलायतवासी नेपालीहरुप्रति उनले कृतज्ञता प्रकट गरे । सन् २०२० सम्ममा विश्वका विभिन्न २० देशका नेपालीहरुमाझ पुगेर सांगीतिक कार्यक्रमहरु गर्दै अभियानको लागि सहयोग जुटाउने उनको योजना छ ।
कार्यक्रममा गायक मोक्तानले सञ्चालन गरेका सामाजिक कार्यहरुको साथै शिक्षाका लागि विश्व्यापी सांगीतिक अभियानको विषयमा एक जानकारीमुलक भिडियो प्रिजेन्टेसन पनि गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा नेपाली हास्यव्यंग्य जगतका एक लोकप्रिय कलाकार मनोज गजुरेलले प्रहसन मार्फत सहभागीहरुलाई निकै हंसाएका थिए । प्रस्तुतिको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका गजुरेलले मगन्ते मानसिकताबाट नेपाली मुक्त हुनुपर्ने सन्देशसहित ‘अमेरिकी एम्बेसी हैन, नेपाली गाउँबेसी धाउन’ आग्रहसमेत गरे ।ट्रम्पले नेपालीलाई सहयोग गर्न मेक्सिकोमा पर्खाल नलगाउने बताए, उनले पर्खालबाट नेपाली हाम्फाल्दा फान्ट च्यातिएर प्वाल पर्ने भएकोले यस्तो गर्न लागेको बताए ।
गायक मोक्तानले गीतहरु प्रस्तुत गर्दै मनोरञ्जन गराएका थिए भने नायिका तथा मोडल मरिस्का पोखरेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन यति एशोसिएनका पूर्व अध्यक्ष तथा च्यारिटी कार्यक्रमका संयोजक उमेशराज मोक्तानले गरेका थिए ।

कार्यक्रमका सहसंयोजक तथा यतिका सल्लाहकार ध्रुव केसीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सभापति तथा संस्थाका कार्यवाहक अध्यक्ष शशीधर नेपालले कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।






