काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मानिन्छ । यस दिन कागलाई पूजा नगरी, खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।






