‘विश्वविद्यालयमा दलितप्रति भेदभाव घटदै’

लण्डन– नेपालका विश्वविद्यालयहरुमा दलित विद्यार्थी तथा प्राध्यापकहरुप्रति गरिने भेदभाव घट्दै गएको एक जर्मन अध्यापकले बताएकी छन्।

जर्मनीको बिलफेल्ड विश्वविद्यालयमा सोसल एन्थ्रोपोलोजीकी प्राध्यापक जोआना फाफ जार्नेकाले नेपालमा गत एक दशकमा प्राज्ञिक संस्थाहरुको नाटकीय विस्तार भएको तथा विद्यार्थीको संख्या पनि बढेको तर दलित विद्यार्थीको संख्या केही मात्रामा बढेको भएतापनि दलित प्राध्यापकहरुको विकास र सहभागिता खासै बढ्न नसकेको बताइन्।

तर उनले भारतीय शैक्षिक संस्थाहरुको तुलनामा नेपालका उच्च शैक्षिक संस्थाहरुमा शिक्षक तथा विद्यार्थीहरुले आफुहरुप्रति सकारात्मक व्यवहार गर्ने गरेको दलित शिक्षक तथा विद्यार्थीहरुले आफुलाई बताएको जनाइन्।

ब्रिटेन-नेपाल प्रज्ञा परिषदले बिहीवार लण्डनको सोआसमा आयोजना गरेको १६ औं वार्षिक नेपाल प्रवचन श्रृंखलामा “प्राज्ञिक संस्थाहरुसंगको आबद्धता? उच्च शिक्षा, असमानता तथा विकास” विषयमा बोल्दै प्राध्यापक जार्नेकाले भारतमा दलित भनिने विद्यार्थी तथा प्राध्यापकहरुप्रति भेदभाव तथा हिंसाका घटनाहरु बढ्दै गएका बेला नेपालका विश्वविद्यालयहरु भने जातीय हिसाबले बढी स्वतन्त्र रहेको उनले बताइन्।

“यद्यपि भारतमा प्राज्ञिक क्षेत्रमा दलितको आबद्धता र उपस्थिति स्पष्ट देखिएको भएतापनि नेपालमा यस्तो उपस्थिति न्यून वा अदृश्य छ,” उनले भनिन्।

प्राध्यापक जार्नेकाले नेपालका प्राज्ञिक स्थलहरुमा जातीय भेदभाव घटेको दलित विद्यार्थीहरुले कथित उच्च जातिका प्राध्यापकहरुबाट आवश्यक सहयोग र प्रेरणा पाएको भएता पनि आफुहरुलाई उनीहरुका घरमा बोलाउने नगरेको बताएको पनि जनाइन् । उनले नेपालमा निकै कम संख्यामा मात्रै दलित विद्यार्थीहरुले स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गर्नेगरेको र तीमध्ये पनि अधिकांश प्राविधिक विषयभन्दा मानविकी र समाजशास्त्रजस्ता विषयहरु पढीरहेको बताइन्।

त्रिभुवन विश्वविद्यालयका पूर्णकालिकरुपमा कार्यरत झण्डै आठ हजार शिक्षक तथा प्राध्यापकहरुमध्ये केवल १० जना मात्र दलित रहेको पनि उनले बताइन्। भारतको तुलनामा नेपालमा आरक्षण लागू गरिएको केही वर्षमात्रै भएको र त्यसैले शैक्षिक क्षेत्रमा दलितहरु खासै अगाडि आइ नसकेकेा उनको भनाइ थियो। उनको अध्ययनमा समेटिएका प्राज्ञिक क्षेत्रका सहभागीहरु आरक्षणका कारण त्यहाँसम्म पुग्न सफल भएको पनि उनले बताइन्।

दलित विद्यार्थीहरुले भने कतिपय अवस्थामा आफ्नो पहिचान लुकाउनु परेको, काठमाडौं लगायतका शहरहरुमा पनि डेरा खोज्दा भेदभाव व्यहोर्नु परेको बताउने गरेका छन्। नेपालमा साक्षरता दर झण्डै ६६ प्रतिशत रहेको छ भने दलित समुदायको साक्षरता दर झण्डै ५२% छ। तराई मधेशका दलितहरुको साक्षरता दर त ३५ भन्दा पनि कम छ। त्यस्तै विद्यालय तहमा बीचमै पढाइ छाडने विद्यार्थीहरुमध्ये दलित विद्यार्थीहरुको संख्या उच्च रहेको अध्ययनहरुले देखाएका छन्।

दलित समुदायसंग रहेको पारम्परिक सीप र दक्षता हराउँदै गएको बताउँदै प्राध्यापक जार्नेकाले दलितहरुलाई समाजको मूलधारमा ल्याउन र उनीहरुमा अपनत्वको भावना बढाउन अरु बढी प्रयास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिइन्।

कार्यक्रममा ब्रिटेन-नेपाल प्रज्ञा परिषदका अध्यक्ष डा. कृष्ण अधिकारीले बिएनएसीले नेपाल र युरोपबाट पालैपालो विद्वानहरुलाई आमन्त्रण गरेर नेपालसंबन्धी प्राज्ञिक विषयमा प्रवचन आयोजना गर्ने गरेको जनाए। उनले यसबाहेक वर्षेनी बेलायतमा नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) आयोजना गर्ने गरेको तथा पिएचडी अध्ययनरत एकजना विद्यार्थीलाई आर्थिक सहयोग गर्ने गरेको पनि जनाए। कार्यक्रमको शुरुमा अर्का पूर्व अध्यक्ष प्रा. डा. डेभिड गेलनरले प्राध्यापक जेर्निकाको विस्तृत परिचय दिंदै उनले गरेका नेपाल संबन्धी अनुसन्धानबारे जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *