लण्डन ।हिन्दुहरुको महान पर्व दशैं घरआंगनमा भित्रिसकेको छ । यो पर्व मान्न विदेशमा रहेका लाखौं नेपालीलाई यतिबेला स्वदेश फर्किन भ्याइ नभ्याइ छ । केहि फर्की सके, केहि अझैं फर्कदैं छन् ।दशैंमाआमाको आशिर्वाद थाप्न बेलायतबाट घर फर्किदै गरेका हुन् ।
बेलायतबाट पनि यसपटकको दशैंमा धेरै नेपाली घर फर्कने क्रम सुरु भएको छ । एनआरएनसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अगुवा, सामाजिक अभियन्ता र पत्रकार पनि दशैंको मेसोमा नेपाल पुगेका छन् । कतिपय जाने तयारीमा छन् ।
एनआरएनसंग आबद्ध कैयौं हस्तीहरु यतिबेला नेपालमा छन् । एनआरएन डे, एनआरएन विज्ञ सम्मेलन जस्ता आफ्ना कार्यक्रम सकेर उनीहरु नेपालमै दशैं मनाउने तयारीमा छन् । अहिले नेपाल पुग्नेमा एनआरएन अभीयान्ता आइसिसी उपाध्यक्ष कुल आचार्यदेखि एनआरएन यूके प्रमुख संरक्षक डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, उपाध्यक्ष ललितकुमार न्यौपाने, युवा संयोजक एलबिजेड गुरुंगदेखि चिरञ्जिवी ढकाल, थर्क सेन, पशुपति भण्डारी, कमल पौडेल,मोर्गेज बिज्ञ ऋषि खनाल, सैन्द्र केशी, गायिका सुजाता काफ्ले सम्म छन् । यसै बीच ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका पूर्व मानार्थ प्रतिनिधि पशुपति भण्डारी त एक हुल बेलायती पर्यटक सहित नेपाल पुगेका हुन् । अरु धेरै अगुवाले टिकट लिइसकेको बताईएको छ ।
एनआरएन मात्र होइन, बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको एउटा टोली पनि यसपटक नेपालमै दशैंतिहार मनाउने तयारीमा छ । पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष तथा कान्तिपुरकर्मी नविन पोखरेल केहि वर्षको अन्तरालपछि दशैं मनाउन यसपटक नेपाल पुगी सके । लण्डन नेपाल न्यूजका प्रधानसम्पादक शिव भण्डारी पनि हरेक वर्षजस्तै यसपटकको दशैंतिहारमा नेपालमै छन् । नेपालीपत्र सम्पादक ध्रुबराज अर्याल पनि पर्व मनाउने शिलशिलामै केहि दिनपछि नेपाल उड्ने तयारीमा छन् ।
दशैंको मौकामा नेपालमा रहंदा केहि एनआरएन अभियन्ता र पत्रकारले नेपालमै केहि कार्यक्रममा भाग लिने योजना पनि बनाएका छन् । कार्यक्रमको शिलशिलामा दशैं र तिहारको बीचको समयमा काठमाडौं बाहिरका केहि क्षेत्र पुग्नेसम्मका योजना उनीहरुसंग छन् ।
बेलायतबाट दशैंको समयमा नेपाल जानेहरुको संख्या बढेको छ । साथसाथै, हवाई भाडा पनि निकै बढेको छ । लण्डनस्थित ट्राभल व्यवसायी बिराज भट्टका अनुसार अरु सिजनको तुलनामा अहिले नेपाल जाने हवाई टिकटको मुल्य दोब्बर जस्तै बनेको छ ।
काठमाडौंमा पर्व मनाएर फर्किनेहरुलाई त केहि सजिलो होला । तर काठमाडौंबाट फेरि आफ्नो गाउं, शहरको यात्रा गर्नुपर्नेलाई भने केहि असहज छ । एकातिर छुट्टीको धेरै समय यात्रामै बिताउनुपर्ने त अर्कोतिर महंगो टिकट मुल्यको भार पनि छदैछ । आफ्नो जन्मभुमिमा आमाको हातको टिका र आशिर्वाद ग्रहण जानेहरु चर्को भाडा र लामो यात्राको मारमा छन् ।






