शिव भण्डारी/लन्डन
गैरआवासीय नेपाली संघले स्थापना दिवस भब्य रुपमा मनाउने भएको छ । एनआरएन डे को अवसरमा साताब्यापी कार्यक्रम शूरु गरेको एनआरएनले भोली भने भब्य रुपमा मनाउने भएको हो । भोली ‘एनआरएन डे’ का अवसरमा एनआरएनले सञ्चालन गरेका विभिन्न मेगा प्रोजेक्ट सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ । एनआरएन अध्यक्ष भवन भट्टका अनुसार शख्खमुल पार्क भोली नै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । पार्क तयार भइसकेको छ ।
त्यस्तै, स्थापना दिवसकै अवसरमा विभिन्न साताब्यापी कार्यक्रम समेत भइरहेका छन् । एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार संघले यस अवसरमा सदा झैं यस वर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउन गैरहेको छ । यो वर्षको गैरआवासीय नेपाली दिवस अझ विशेष हुने प्रवक्ता घिमिरले बताउनुभयो ।
‘यस दिवसका सन्दर्भमा हुन गैरहेका विशेष कार्यक्रमहरु यो दिनलाई विशेष हुने भएको छ । हरेक दुईवर्षमा विदेशमा आयोजना हुने संघको क्षेत्रीय सम्मेलनको सट्टा गैरआवासीय नेपाली दिवसको अवसर पारेर नेपालमा नै खास विषयमा सम्मेलन गर्ने बर्तमान कार्यसमितिको निर्णय अनुसार अक्टोवर १२ देखि १४ सम्म विज्ञ सम्मेलन हुने भएको छ ।
‘सो सम्मेलनमा २०० भन्दा बढी संसारभर छरिएर रहेमा स्वदेशी तथा विदेशी विभिन्न क्षेत्रका विज्ञहरुले आर्जनगरेका विज्ञता, अनुभव र शिपलाई नेपालका सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्र प्रस्तुत गर्न गैरहेका छन् । नेपाल सरकारसँगको सहकार्यमा हुन गैरहेको यो सम्मेलन गैरआवासीय नेपाली अभियानको एउटा महत्वपूर्ण फड्को हुने हाम्रो अपेक्षा छ’, प्रवत्ता घिमिरले भने ।
त्यसैगरी गत अधिवेशनले संघको विधानमा आवश्यक परिमार्जनहरुका विषयमा गम्भीरतापूर्वक छलफल गरेर संशोधनका निम्ति प्रस्ताव तयार गर्न विधान सभा गर्ने निर्णय गरेको थियो । यही अक्टोवर १२ मा विधान सभा पनि हुन गैरहेको छ । संघको संस्थागत संरचनामा समयानुकुल परिवर्तन आवश्यक पर्ने हुन्छ । केही देशबाट शुरुभएको अभियानको करिब ८० देशमा संजाल विस्तार भैसकेको छ । पंजीकृत सदस्यहरुको संख्यामा भएको बृद्धिले महाधिवेशन व्यवस्थापनमा ध्यान दिनुपर्ने टड्कारो अनुभव भैसकेको प्रवत्ता घिमिरले बताए ।
संघले विगतमा सुरु गरेका ठूला परियोजनाहरुको निर्माण सम्पन्न हुँदै छन् । यसै क्रममा संघको आफ्नै भवनमा सचिवालय सार्ने र शंखमुलमा निर्मित पार्क ललितपुर महानगरपालीकालाई हस्तान्तरण गर्ने कार्य यस वर्षको गैरआवासीय नेपाली दिवसकै अवसरमा हुन गैरहेका छन् ।
ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनरनिर्माण योजनाको हस्तान्तरण, पर्यटन प्रवर्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनु पर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदान गर्ने लगायत थुप्रै कार्यक्रमहरु यस पटक आयोजना हुन गैरहेका छन् र कतिपय भैसकेको जनाइएको छ । लाप्राक नमूना वस्तिको निर्माण अनपेक्षित प्राकृतिक प्रतिकुलताका कारण अझै पूर्णरुपमा सम्पन्न हुन नसकेको र निर्माणकार्य अन्निम चरणमा पुगेको जनाइएको छ ।






