कलाकारहरुले भने– यहि युगमा संविधान देख्ने हामी भाग्यमानी

 

दीपकराज गिरी

यो संविधानलाई एक सय प्रतिशतले स्वीकार गरेको अवस्था छैन । अलिकति बुद्धि प्रयोग गरौँ अव । छातीमा हात राखौँ । आप्mनो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल राखौँ । यो संविधान असंसोधननीय हैन, त्यसैले जायज कुराहरु पछि पनि समेट्न सकिन्छ । जस्तो भारतमा शुरुमा १५ वटा प्रान्त थियो रे अहिले २५/२६ वटा पुगेका छन् ।
घरमा तरकारी पकाउने विषयमा त सबै जनाको एउटै सहमति हुँदैन । संविधानको कुरा हो, कहाँ सवैको सहमति हुन्छ र ?
अहिलेलाई आलोचनात्मक समर्थन गरेर जारी गरौँ । यसका लागि एक जना मान्छे मर्नु पनि ठीक होईन । तर, त्यसो भन्दैमा मान्छेको मृत्यूप्रति संबेदनाहिन पनि नबनौँ । बच्चा गुणी बनाउँछु राम्रो बनाउँछु भनेर जन्मन नै नदिई पेटभित्रै उपचार गर्ने कुरा ठिक होईन, पहिला बच्चा जन्मन दिनुप¥यो त्यसपछि पो त्यसलाई कस्तो बनाउने हो कस्तो उपचार गर्ने हो गर्नुपर्छ नि ।

दुर्गा रायमाझी, चलचित्र निर्देशक तथा बरीष्ठ लोकगायक

म आफैले व्यक्तिगत रुपमा भन्दा पर्दा खुसीयाली आफ्नो ठाउँमा छ । तर, पूर्ण खुसीयालीको अवस्था छैन । किनकि कतिपयले यसलाई सहर्ष स्विकारेको अवस्था छैन । आज संविधान जारी भएपछि एउटा गोरेटो त बन्यो तर यो नै अन्तिम हैन । कार्यान्वयनमा जानका लागि थुप्रै चुनौतीहरु छन् । त्यसमा नेताहरु एकदम संयम भएर जानुपर्ने अवस्था छ ।

देशलाई सँधैभरी अनिर्णयको बन्दी बनाएर राखिरहनु भन्दा एउटा खुड्कीलो पार गरेपछि केही न केही उपाय त लाग्ला नि भनेर तीन दलका शिर्ष नेताहरुले जुन भुमिका निर्वाह गरेर यो एकदम महत्वपूर्ण छन् । संविधान एकदम अकाट्य विषय होईन, त्यसैले भोलीका दिनमा सबैका कुरा समेट्ने गरी उत्कृष्ट बनाउँदै लैजानका लागि सबैले सहयोग गर्नुपर्छ ।

नवल खड्का, चलचित्र निर्देशक

नेपालको संविधान २०७२ का सम्बन्धमा यसले लोकतान्त्रिक गणतन्त्रको स्थापना समावेशी, समानुपातीक, संघीयता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषयको ग्यारेण्टी गरेको छ । त्यो भन्दा पनि हामी कलाकारको लागि संविधानको धारा ५५ ग को (६) मा चलचित्र भन्ने शब्द समावेश भएर आएको छ । कला, साहित्य, संस्कृति, अभिनय, प्रविधीको विकसीतर रुप भनेको चलचित्र हो र यो कुरालाई नेपाल चलचित्र कलाकार संघले जोडदार संविधानमा राख्नका निम्ति पहल कदमी लियो र संविधानमा उल्लेख भएर पनि आयो । यसका लागि राजनीतिक संवाद तथा सहमति समितीका संयोक डा. बाबुराम भट्टराई लगायत राजानीतिक दलका नेता, सभासद प्रति आभार प्रकट गर्दछु र यो संविधान २०७२ को नेपाल चलचित्र कलाकार संघ हार्दिक स्वागत र समर्थन गर्दछ ।
मेरो व्यक्तियत सोचको कुरा गर्नुहुन्छ भने यो संविधानमा जनताले प्रत्यक्ष भोट हालेर राष्ट्र प्रमुख चुन्ने अधिकार पाएन । भारत सँगको खुल्ला सीमा अन्त्य भएन । आधारभूत शिक्षामा निजीकरण को अन्त्य हुने भएन । बेरोजगारी युवाहरुलाई रोजगारीको ग्यारेण्टी भएन । संवेधनशील सुचना तथा संचारमा विदेशी लगानी निषेधको क्ुरा ग्यारेण्टी भएन एक वा दुई पटक भन्दा बढी राष्ट्र प्रमुख प्रधानमन्त्री, मन्त्री, सामसद्, हुन नपाउने व्यवस्था भएन शैक्षिक योग्यता नेतालाई तोकीएन, वालवालिका वृद्धाहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी भएन, तराई, मधेस, थारु लगायत उत्पीडनमा परेका वर्गको जायज सम्बोधन नभएको अवस्था छ । नहुनु मामा भन्दा कानो मामा नै ठिक छ, भन्ने आलोचनात्मक समर्थन छ । जनआन्दोलन, जनयुद्धका केही उपलब्धीहरु संस्थागत भएकोमा जनतालाई बधाई । शहीदहरुलाई सम्मान छ ।

सीतारम कट्टेल, धुर्मुस
यो दिन ऐतिहासिक, अविस्मरणीय र विजयको दिन हो । केही समुदाय बर्गले आफ्ना असन्तुष्टिहरु राख्नुभएको छ । तर पनि धेरै नेपालीले रगत बगाएर ल्याएको संविधान हो । सबैलाई समेटेर जान नसक्नु एउटा दुःखद पक्ष हो, तर योपटक संविधान नबनेको भए कहिलेपनि बन्न सक्ने थिएन । त्यसैले असहमतिका कुराहरुलाई पछि समेट्नेगरी यो दिनलाई सबै नेपालीको ऐतिहासिक विजयको दिन मान्नुपर्छ ।

मरिचमान श्रेष्ठ, बल्छी ध्रुबे

संविधानसभा मार्फत नयाँ संविधान पाउने हामी एकदम भाग्यमानी रैछौँ । ईतिहासमा एकपटक मात्र आउने दिन हामीले नै भोग्न देख्न पाईयो । यो एकदम खुसीको कुरा हो । तर संविधान बन्नुमात्र ठूलो कुरा होईन, यो सबैलाई मिलाएर कार्यान्वयनमा पनि लैजानुपर्छ तव मात्र हाम्रो विजय हुने छ ।

एक नारायण भण्डारी, शब्द संकलक

संविधान जारी हुँदा रमाईलै लाग्यो, नेपाली नागरीक भएको नाताले । यो नेपालीले चुनेका जनप्रतिनिधीले पहिलोपटक बनाएको संविधान हो । यो बाहेक संघियताका कारण केही असमझदारी छन्, त्यो कुरा चाँडै टुंग्याउनुपर्छ । तर राष्ट्रिय हितलाई एकदम ख्याल राख्नुपर्छ । प्रकृयागत रुपमा बहुमतले पारीत गरेकोमा पनि खुसी लागेको छ, तर सबैलाई समेट्नु पर्छ । एउटा कलाकार भएको नाताले पहिलो पटक संविधानमा बौद्धिक सम्पत्तिको सुरक्षाको अधिकार सुनिश्चित गरीएको छ । एकदम धेरै खुसी लागेको छ ।