लमजुङ देखि बेलायतसम्म प्राध्यापक डा.सुवेदीको यात्रा

शिब भण्डारी

लन्डन । के १४ वर्षको उमेरमा ‘एबीसीडी’ सिकेको किशोर अंग्रेजीको जन्मस्थान बेलायतमै आएर चर्चित प्राध्यापक बन्न सक्छ?

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले त्यो संभव भएको देखाएका छन्।

विसं २०१४ मा लमजुङमा जन्म‌िएका सुवेदीको प्रारंभिक शिक्षादीक्षा गुरुकूल परंपरामा संस्कृतमा भएको थियो। त्यसले उनलाई नेपाली र अंग्रेजी सिक्न पनि सघायो।

ब्रिटेन नेपाल लयर्स एसोसियसनद्वारा शनिबार लण्डनको एबिआइ कलेजमा आयोजित एक कार्यक्रममा बोल्दै प्रा. सुवेदीले एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि आफु काठमाडौं आएको र कानुन विषयमा भर्ना भै स्नातक तह उत्तीर्ण गरेको बताए। त्यसपछि लोकसेवा उत्तीर्ण गरी कानुन तथा न्याय मन्त्रालयमा काम शुरु गरेका उनले बेलायतको युनिभर्सिटी अफ हलमा अन्तर्राष्ट्रिय कानुनमा एलएलएम् अध्ययन गर्न छात्रवृत्ति पाए। अन्तर्राष्ट्रिय कानुन अनुसार भूपरिवेष्ठित मुलुक नेपालका अधिकारहरु के के छन् भन्नेबारे उनले थेसिस पनि लेखे।

“संयोग कस्तो पर्यो भने म नेपाल फर्कँदा सन् १९८९ मा भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएको थियो, जुन सन् २०१५ को नाकाबन्दी भन्दा निकै कडा थियो। मेरो थेसिस चारवटा लेखको रुपमा द राइजिङ नेपाल पत्रिकामा छापियो। ती लेखहरु छापिएको केही पछि मलाई दरबारबाट बोलावट आयो,” उनले भने।

दरबारमा राजा वीरेन्द्रसंग भेट भएको र राजाले उनलाई आफ्नै सचिवालयमा काम गर्न भनेको सुवेदी संझन्छन्। १९८९ मा बेल्ग्रेडमा भएको असंलग्न मुलुकका नेताहरुको नवौं शिखरसम्मेलनको अवसरमा भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीसंग राजा वीरेन्द्रबीच वार्ता भयो। सुवेदी पनि भ्रमण टोलीमा सामेल गरिए।

तर सो वार्ता सफल भएन र भारतले नाकावन्दी पनि हटाएन। नाकावन्दी जारी नै रहेका बेला सुवेदीले अन्तर्राष्ट्रिय कानुनमा पिएचडी गर्न बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट पत्र प्राप्त गरे।

“त्यसपछि मैले राजा वीरेन्द्रलाई भेटेर सो कुरा बताएँ,” सुवेदीले भने। “बेलायतकै इटन कलेजमा अध्ययन गरेका राजाले एकछिन विचार गरेर म यो बेला तिमीलाई छोडन चाहँदैनथिएँ, तर तिमीले यस्तो मौका फेरि पाउनेछैनौ। त्यसैले पढन जाउ, तर पिएचडी पुरा गर्नासाथ तुरुन्त नेपाल फर्क भने।”

बेलायतबाट पिएचडी पुरा गरेर स्वदेश फर्के पछि केही समय नेपालमा काम गरेपनि आफ्नो वृत्तिविकासको संभावना नदेखेपछि उनी द हेगस्थित इन्स्टिच्युट अफ सोसल स्टडीजमा अन्तर्राष्ट्रिय कानुनको प्राध्यापकको रुपमा काम गर्न गए। पछि अक्सफोर्ड विश्वविद्यालयमै अध्यापन गर्न सपरिवार बेलायत सरे।

६ वर्षसंम क्याम्बोडियाकालागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकको रुपमा काम गरेको प्रा. सुवेदी बेलायतमा क्वीन्स कन्सुल तथा ब्यारिष्टरको रुपमा पनि कार्यरत छन्। उनले बेलायतका विदेश मन्त्रीको सल्लाहकारका रुपमा पनि काम गरेका छन्।

ब्रिटेन नेपाल लयर्स एसोसियसनका अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन सोलिसिटर जिनिता पन्धकले गरेकी थिइन्। कार्यक्रममा बेलायतस्थित नेपाली समाजका एकजना अगुजा डा. राघब धितालले प्रा. सुवेदीसंग आफ्नो पहिलो भेटको रमाइलो संझना पनि सुनाएका थिए।