हो हामी वचपन देखि सँगै भाँडाकुटी खेल्दै हुर्किएका होईनौँ । धुलाम्मे हुनेगरी धुलोमा गुच्चा, कबड्डी, लुकामारी, छोईडुम खेल्दै हुर्केका हामी होईनौँ । विद्यालय, कलेज सँगै पढेका पनि होईनौँ हामी । नेपालमा हुँदा पहिले कतै भेट भएको पनि थिएनौँ हामी । तर सुरुमा कसैको पनि कसैसँग भेट भएको हुँदैन् । एउटा वच्चा सुरुमा आफ्नो जन्म दिने आमालाई पनि चिनेको हुँदैन् । विस्तारै अवसर पाउँदै गएपछि आमाबावु परिवार ईष्टमित्र साथीभाई हुँदै चिन्दै जाने न हो । सायद आजसम्म हामी वीचमा त्यो अवसरको सृजना भएन र चिनिएन जानिएन अनि एकअर्कालाई वुझिएन । फेरि सवै साथी सदा–सदा सँगसँगै भईरहने को नै हुन्छ र ?

समयले हामीलाई वैदेशिक रोजगारीमा भेटिएको साथी बनायो । पहिले कतै नभेटिएको नदेखिएको नचिनेको भएपनि हामी यस्तो अवस्थामा भेटिएका छौँ । जहाँ घर परिवार भन्दा धेरै पर । खाना, भाषा, रहनसहन केहि नमिल्ने ठाऊँमा । साथीभाई, इृष्टमित्र, परिवारजन, जे भनेपनि हामी नेपाली साथीभाई मात्र भएको ठाउँमा ।
मेरो यो ठाउँमा आफन्त, परिवार, साथीभाई ईष्टमित्र जे भनेपनि तँपाई मात्र न हुनुहुन्छ । म तँपाई भन्दा पछि आएँ यो विरानो देशमा यसमा मेरो के गल्ती ? म कम्पनिको काम केहि पनि जानेको छैन, आजभन्दा पहिले कहिल्यै नगरेको भएर । यहाँ वोलीने भाषा केहि पनि वुझ्दैन र बोल्न पनि आउँदैन , मैले त्यो भाषा कतै नबोलेको र नसुनेको भएर । यसमा मेरो के दोष ?

तर तँपाई मेरो यहि कमजोरी माथी टेकेर मप्रति हेपाहा व्यवहार गरिरहनुभएको छ । तँपाई आफू स्वयम् जे गरेपनि हुने र मैले जे गर्दापनि नहुने भएको छ । वरु अरु नै विदेशी कामदारले काम सिकाउँछ । भाषा नवुझेपनि ईसारा कै भरमा यसरी गर्ने, त्यसरी गर्ने भनिरहेको हुन्छ । तर तँपाई मसँग बोलिने भाषा एउटै छ । मभन्दा धेरै पुरानो पनि भईसक्नुभएको छ । यो कम्पनिको वारेमा धेरै जानकार हुनुहुन्छ । रपनि तँपाई किन मलाई यो काम कसरी गर्ने भनेर सिकाईदिनु भन्दा उल्टै रिसाउनुहुन्छ ? झर्किनुहुन्छ ? म तँपाईसँग कत्ति मिल्ने प्रयास गरेँ । हदैसम्मको लचकता अपनाएर तँपाइलाई वुझ्ने प्रयास गरेँ । रपनि तँपाई किन मसँग नजिकिनु भन्दा झन टाढा भाग्न खोज्नुहुन्छ ?

सोहि तँपाईको मप्रतिको ब्यवहारका कारण म आजकल एक्लै बसेर धेरै कुराहरु सोँच्न थालेको छु । पुरै एक्लोपन महसुस भईरहेको छ मलाई । धेरै भन्दा धेरै कुराहरु मेरो मनस्पटलमा घुमीरहेको हुन्छ । एक्लोपनले गर्दा ड्यूटीमा हुँदा पनि एक्लै टोलाईरहेको हुन्छु । घरपरिवार साथीभाईहरुको याद पनि एकदमै आईरहेको हुन्छ । के गरौँ र कसो गरौँ भईरहेको हुन्छ । कतै मलाई डिप्रेशन हुँदै त छैन ?

एकजना मेरो आफ्नै साथी विदेश गएको ४ महिनामै डिप्रेशनको शिकार भएर घरमा फर्किनुपरेको थियो । विदेशमा धेरै साथीहरुले आत्महत्या गरिरहेको छ । आत्महत्याको प्रमुख कारण डिप्रेशन नै हो । कत्ति औद्योगिक दुर्घटनाको कारण अंगभङ्ग भएका छन, त्यसमा पनि डिप्रेशन धेरै हदसम्म कारक हुन आउँछ । त्यसैले साथी ड्यूटीमा हुँदा होस या त अरु कुनै ठाउँमा विभिन्न खालका मानसिक टर्चरहरु दिन कुपया बन्द गरिदिनुहोस । र मलाई डिप्रेशन हुनवाट वचाईदिनुहोस ।
छोटकरीमा विदेशमा हुने डिप्रेशन र समाधानवारे लेखकको भनाई

धेरै नेपाली साथीहरु प्रदेशमा आफ्नै कम्पनिका नेपालीवाटै पिडित छन भन्ने आवाजहरु आईरहेको हुँदा भविष्यमा नेपाली नेपाली वीच भाईमाराको व्यवहार अन्त्य गरी भाईचारा कायम होस भन्ने उद्देश्यका साथ यो लेख लेखिएको हो ।

डिप्रेशन विभिन्न कारणले हुनसक्छ जसमा अग्रज साथीभाईको मनोवैज्ञानिक टर्चर, परिवारजनको कलह, साथै प्रमी–प्रेमिका वा श्रीमान÷श्रीमती वीचको मनमुटाव ।

विदेशमा प्रमुख रुपमा साथीभाई नै आउने गर्दछ । किनकी ऊ साथीसँग नै सम्पूर्ण कुराहरु प्रत्यक्ष गरिराखेको हुन्छ । तसर्थ हामी नेपाली नेपाली वीच भाईमारा नभएर भाईचाराको ब्यवहार गरौँ । कुनै वेला पारिवारीक तनाबहरुवाट पनि डिप्रेशन हुन सक्छ । कोहि खासै वोलीरहेको छैन, एकान्तमा बस्न खोजिरहन्छ वा हरदम भावुक देखियो भने पनि ऊसलाई हाँसोको पात्र नबनाई उसको समस्या वुझ्ने प्रयास गरौँ र समाधानको लागि पहल गरौँ । विदेशमा नयाँ पुरानो जे भएपनि सबै समान उद्देश्यका साथ घरपरिवार देखि धेरै टाढा आएका छौँ त्यो मनन गरौँ । आगामी दिनहरुमा कोहि पनि डिप्रेशनको कारण अर्धचेत भएर अंगभंग भएर वा लास भएर विदेशवाट घर फर्किन नपरोस् । वैदेशीक रोजगारी सफल अनि सुखद रहोस् । धन्यवाद ।

लेखक परिचय
एईडेन छन्त्याल
हाल द. कोरिया

फेसबुक कमेन्ट