लन्डनमा भूपू गोर्खाहरुको जनसभा (भिडियो सहित)

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आइतबार लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा जनसभा गरेको छ । कार्यक्रममा सोलिसिटर राजु थापाले आफ्नो फर्मले भूपू गोर्खाका वयस्क सन्तानको मुद्दा करिब ९५ प्रतिशत सफल गराइसकेको र करिब ११ सय सन्तानलाई बेलायत झिकाइसकेको बताए ।

विधवाकी छोरी ५१ वर्षीया सन्तानले समेत बेलायत आउन कानुनी मुद्दा जितेको उदाहरण सोलिसिटर थापाले दिए । बेलायत सरकारले आफ्नो नीतिमा भूतपूर्व गोर्खाका ३० वर्ष मुनीका वयस्क सन्तानले दश वटा क्राइटेरिया पुरा गरे आवासीय अधिकार पाउने भनेपनि ३० वर्ष भन्दा माथिकाको समेत पारिवारिक जीवन र मानवअधिकारका आधारमा मुद्दा जितिएको थापाले जानकारी दिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकारका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको वार्ता निष्कर्ष सम्बन्धमा झण्डै सात महिनासम्म कुनै अपडेट नभएकामा गम्भीर ध्यानाकर्षण भएको बताउंदै अक्टोबर अन्तिमसम्म पनि केही नतिजा आएन भने पुनः आन्दोलन गर्न वाध्य हुनुपर्ने चेतावनी दिए ।

समितिकी सह कोषाध्यक्ष विष्णु गुरुंगले सबै हरहिसाब पारदर्शी रहेको र हरेक डिसेम्बरमा अडिट गर्ने गरिएको जनाइन् । उनले आन्दोलन शुरु भएको ५ वर्ष अवधिमा संस्थाको खातामा करिब एक लाख पाउण्ड कारोबार भएको पनि बताइन् । समितिका सह संयोजक सूर्य नेम्वांगले टोकरी र केन्द्रिय समितिबाट उठाइएको लेवीले आन्दोलन चलेको बताए । उनले पैसा हिनामिना गरिएको भन्ने हल्लामा कुनै पनि सत्यता नभएको जिकिर गरे ।

कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार प्रेमबहादुर गुरुंगले सत्याग्रह आन्दोलनको विगतबारे जानकारी दिएका थिए । महासचिव सइन्द्र केसीले गोर्खा आन्दोलन सबैको आन्दोलन भएको बताउंदै साथ दिन आग्रह गरिन् ।

गोर्खा च्यानलकी विमला सेनेले सञ्चालन गरेको गोर्खा वहसलाई लन्डन नेपाल न्यूज र गोर्खा स्टुडियो यूकेले प्रत्यक्ष प्रसारण गरेका थिए ।

हेर्नुहोस भिडियो :

https://www.facebook.com/londonnepalnews/videos/279113142927767/?t=2