भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको हो, तर निर्णय भएन : मन्त्री ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको पनि बताए । ‘सार्कलाई बिमस्टेकको विकल्पमा रुपमा लिनुहुन्न भन्ने मान्यतामा सरकार दृढ रहेको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए ।

उनले बिमस्टेक शिखर सम्मेलनको १८ बुदे काठमाडौँ घोषणा पत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्ने तयारी भइरहेको पनि बताए ।

बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिमस्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रुपमा लिने गल्ती नगर्न मन्त्री ज्ञवालीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।