लिबियामा बिद्रोहीबीच हिंस्रक संघर्षबीच चार सय कैदी फरार, धेरैजसो गद्दाफीका समर्थक

Libyans gather at the site of where a mortar shell landed in the capital Tripoli on August 30, 2018. At least 27 people have been killed and 100 wounded in several days of fighting between rival militias near the Libyan capital, the health ministry said today. / AFP PHOTO / Mahmud TURKIA

लिबियाको राजधानी त्रिपोलीमा विद्रोही गुटमा जारी हिंस्रक संघर्षबीच लगभग चार सय कैदी जेलबाट फरार भएको पुलिसले जानकारी दिएको छ ।

पुलिसका अनुसार कैदीले आइन जारा जेलको ढोका तोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

राजधानीमा विद्रोही गुटबीच चलिरहेको घम्साघम्सी देखेर संयुक्त राष्ट्र समर्थित सरकारले त्यहाँ संकटकालको घोषणा गरेको छ ।

आइन जारामा राखिएका धेरैजसो कैदीलाई लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीका समर्थक मानिएको छ । सन् २०११ मा गद्दाफी सरकारविरुद्ध भएको विद्रोहमा ती फरार कैदीहरु मानिसहरुको हत्यामा दोषी पाइएका थिए ।

आपतकालीन सेवा र प्रत्यक्षदर्शीका अनुसार आइतबार राजधानी त्रिपोलीको रिहायशी इलाकामा भएको एक रकेट हमलामा दुईजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा कम्तीमा ३९ को मृत्यु भएको छ । यसमा थुप्रै सर्वसाधारण पनि समावेश छन् ।

लिबियामा साधारणतया संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा रहन्छ तर देशको अधिकांश हिस्सामा चरमपन्थी गुटको नियन्त्रण छ ।

किन भयो हिंसा ?

चरमपन्थीहरुले त्रिपोलीको दक्षिणी इलाकामा हमला गरेपछि त्यहाँका स्थानीय सरकार समर्थित चरमपन्थी गुटुसँग संघर्ष चलिरहेको छ ।

लिबियाको राष्ट्रिय साझा सरकार अर्थात् जिएनएले हिंस्रक झडपलाई देशको राजनीतिक स्थिरता समाप्त गर्ने प्रयास बताउँदै यो राजधानी र सर्वसाधारणको सुरक्षाका लागि खतरा भएको भन्दै आफू यसमा चुप लागेर बस्न नसक्ने बताएका छन् ।

मानवाधिकार संगठनले पनि हिंसाको निन्दा गर्दै उक्त हिंसामा १८ सर्वसाधारणको मृत्यु भएको जसमा चार बच्चा पनि समावेश भएको जानकारी दिएको छ ।