काठमाडौं– वर्षाका कारण प्रभावित भएको नेपाल र मलेशियाबीचको एशिया कप क्रिकेटको छनोट खेल ३० ओभरमा झारिएको छ ।
बायुमास आभल क्रिकेट मैदानमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेलमा साे समाचार तयार पार्दासम्म नेपालले १०.५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ५३ रन जोडेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालका लागि ओपनर सुवास खकुरेल ९ रन बनाएर आउट भएका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रन जोड्दै आउट भएका छन् । २० बलको सामना गरेका मल्ल ११ रनमा आउट भएका हुन् । यस्तै खकुरेल ८ बलको समना गर्दा ९ रन जोड्दै आउट भए ।
नेपालमाथि आज जित्दै पर्ने दवाव छ । यसअघिका दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको थियो ।
दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक÷एक खेलमा विजयी हङ्कङ र मलेशिया दुई÷दुई अङ्कका साथ क्रमश, तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।
छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ ।
छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।






