लण्डनमा नेपाली मेला आज , १० हजार नेपालीले अवोलोकन गर्ने

लन्डन । २६ अगष्ट आइतबार (आज) लन्डनमा हुन लागेको नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइदिन लन्डनस्थित तमुधिं यूकेले आव्हान गरेको छ ।

बेलायतवासी झण्डै दश हजार नेपाली आउने अपेक्षा गरिएको मेलामा हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ केम्पटन पार्क रेस कोर्समा हुने दशौं औं नेपाली मेलाको तयारी तीव्र भएको छ ।

तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नेपाली संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्ने मेलाको लक्ष्य रहेको भन्दै हरेक वर्ष मेलालाई सुधार र व्यापक बनाउंदै लगिएको जनाए ।
तमु धिं यूके आयोजक रहेपनि मेला बेलायतका सबै नेपालीको साझा हो भन्दै उनले मेलामा सहभागी बन्न बेलायतबासी सबै नेपालीहरुलाई आव्हान गरे ।

१० हजार दर्शकको उपस्थिति अपेक्षा गरिएको मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्था र समुहले प्रस्तुत गर्ने झांकी र नृत्य रहनेछन् । जसका लागि अहिलेसम्म २६ वटा संस्थाले नाम दर्ता गरिसकेका छन् ।

मौलिक कला तथा संस्कृति झल्काउने झांकी प्रस्तुतिमा सर्वोत्कृष्ट हुने समुहलाई लण्डन दूतावासको प्रायोजन रहेको एम्बासडर कप तथा एनआरएन यूकेको प्रायोजन रहेको एनआरएन यूके कपका साथै मेडल, प्रमाणपत्र र नगद ११ सय पाउण्डको पुरस्कार प्रदान गरिनेछ ।

दोस्रो हुने समुहलाई ७ सय पाउण्ड तथा तेस्रोलाई ५ सय पाउण्डसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

त्यस्तै, नृत्यततर्फ प्रथम , दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ सय, ४ सय र ३ सय नगदको पुरस्कार दिइनेछ । सान्तत्वनास्वरुप झांकीका ३ र नृत्यका २ समुहलाई २ २ सय पाउण्डको पुरस्कार पनि राखिएको छ ।

यसैगरि लण्डनस्थित नेपाली दूतावासको सहकार्य तथा एनआरएन यूकेसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको साथ, सहयोगमा आयोजना हुने मेलाको लागि दूतावासको पहलमा बेलायतस्थित विभिन्न २० देशका कुटनितिज्ञहरुलाई अतिथीका रुपमा निमन्त्रणा गरिएको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेका क्षेत्रका स्थानीय सांसद, मेयर र काउन्सिलर पनि आमन्त्रित छन् ।