काठमाडौं । भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको बताएका छन् ।
उनले बरु भारतले भने सगरमाथालाई ‘माउन्ट सिकन्दर’ भन्नु पर्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन काठमार्डौं निम्ताइएका चौधरीले आइतबार बिना अनुमति हेलिकोप्टरबाट सगरमाथाको आधार शीवीर काला पत्थ्थर पुगेर सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने बताएका थिए ।
भारतको संस्थापन निकट मानिने र नेपालबारे बारम्बार विवादास्पद प्रस्तुति दिँदै आएको टेलिभिजनले सगरमाथामाथि भारतको दाबी पेश गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो ।
बुधबार साँझ आफ्नो नियमित कार्यक्रममा चौधरीले आफ्नो अभिव्यक्ति सगरमाथाको सार्वभौमिकतामाथि भारतले दाबी गर्नु पर्छ भन्ने नरहेको बरु माउन्ट एभरेस्टको ठाउँमा यसको सुरुको उचाई मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरको नामबाट नामाकरण गरिनु पर्ने रहेको स्पष्टिकरण दिएका हुन् ।
‘माउन्ट एभरेस्टबाट नाम परिवर्तन भएर माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन।’ चौधरीले भने, ‘यसबाट त्यो गल्ती सुधार्न मात्रै खोजिएको हो, जुन गल्ती बेलायतले आफ्नो शासनकालमा जाने बुझेर अंग्रेजी नाम राखेर गरे।’
चौधरीले आफ्ना दर्शक समेत रहेका नेपालीको भावनामा ठेस पु¥याउने उद्देश्य नरहेको भन्दै आफ्नो अभिव्यक्तिले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने दाबी गरे ।
‘माउन्ट एभरेस्ट जहाँ छ यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’ चौधरीले भने । आइतबार चौधरीले अनधिकृत रुपमा कालापत्थ्थरमा पुगेर सगरमाथाबारे रिपोर्ट बनाएका थिए ।






