शिब भण्डारी -लण्डन । नेपालबाट आउनुभएका वरिष्ठ साहित्यकार तथा लेखकहरुको संमानमा नेपाली दूतावास, लण्डनले सोमबार एक स्वागत समारोह आयोजना गर्यो। कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, लेखक खगेन्द्र संग्रौला, भूतपूर्व राजदूत तथा भाषाविद् डा. नोबेल किशोर राई, वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई एवम् संस्कृति तथा पर्यटन मंत्रालयका सहसचिव भरतमणि सुवेदीलाई सम्मान गरिएको थियो।
सो अवसरमा पाहुनाहरुलाई स्वागत गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले अँग्रेजी साहित्यले संसारलाई नै निर्देशित गरिरहेको बताउनुभयो। शेक्सपियर, जोन मिल्टन, ओस्कार वाइल्ड, जस्ता विश्वप्रसिद्ध साहित्यकारहरुको जन्मभूमिमा आएर सिर्जना गर्नपाउने नेपाली कवि, साहित्यकारहरु भाग्यमानी भएको बताए। उनले बेलायतमा नेपाली साहित्यिक संघसंस्थाहरु सन् १९९५ देखि सकृय रहँदै आएको र नेपाली, भाषा संस्कृति प्रबर्द्धन गर्ने कार्यक्रमहरुमा सघाउन दूतावास सँधै तत्पर रहेको पनि बताए। सो अवसरमा बोल्दै वरिष्ठ कवि तुलसी दिवसले सिर्जनाको दृष्टिले हेर्दा कवि, कलाकारहरु अभूतपूर्व हुने बताए।
“प्रधानमन्त्री, मन्त्री तथा प्रशासकहरु भूतपूर्व हुन्छन्, तर कवि कलाकार कहिल्यै भूतपूर्व हुँदैनन्,” उनले भने। कवि दिवसले नेपाल अहिले मेची र महाकालीको सीमाभित्र मात्र सीमित नरहेको बताउँदै संसारभरि फैलिएका नेपालीहरुले सानो टुक्रा नेपाल आफुसंगै बोकेर ल्याउने गरेको पनि बताए। उनले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा नेपाल बाहिर बसेका नेपालीहरुले धेरै काम गरिरहेको उल्लेख गर्दै अब नेपाली साहित्यको इतिहासको पुनर्लेखन गर्नुपर्ने बेला आएको धारणा व्यक्त गरे। सो अवसरमा कवि नरेश काङमाङ राई तथा गजलकार नृपेश उप्रेतीले आआफ्ना रचना सुनाएका थिए भने गायिका सीतु खरेल तथा गायक एवम् संगीतकार बीसी राईले गीत सुनाएका थिए।
चर्चित लोक गायिका मीना लामाले लोकप्रिय गीतहरु सुनाइन् भने नायिका जोल्टिम डोल्मा गुरुङले नृत्य प्रस्तुत गरिन्। सयपत्री सांस्कृतिक समूहका अध्यक्ष डम्बरसिं प्रयासले सारंगी वादन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बेलायतस्थित नेपाली साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु, कवि, कलाकार, समाजसेवी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो।कार्यक्रमको सञ्चालन लण्डन दूतावासका द्धितीय सेक्रेटरी भुपेन्द्र घिमिरेले गरेका थिए ।
हेर्नुहोस लण्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी को यो स्थलगत एक रिपोर्ट :
https://www.facebook.com/londonnepalnews/videos/2191856224181608/









