ताङ्गतिङ्ग समाज युकेको वार्षिक भेला तथा समर बार्बेक्यु

नर्थोल्ट । लण्डनको नर्थोल्टस्थित नर्थोल्ट भिलेज कम्युनिटी सेन्टरमा ताङ्गतिङ्ग समाज युकेको वार्षिक भेला तथा गृष्मकालिन बार्बेक्यु यही शनिबार सम्पन्न भएको छ । सोही अवसरमा तमुधिं युकेद्वारा गत अप्रिल महिनामा आयोजित क्होला सोंथर (तमुहरुको उदगम स्थल) भ्रमणटोलीका सदस्यहरुलाई पुर्ख्यौली गाउँ ताङ्गतिङ्गको भ्रमण गर्नुभएकोमा तमुधिं युकेका अध्यक्ष सहित ताङ्गतिङ्ग पुग्नुभएका सदस्यज्यूहरुलाई खादा लगाई धन्यवाद तथा सम्मान गरिएको थियो ।

उक्त भ्रमण टोलीका प्राय: सदस्यहरुले ताङ्गतिङ्गको भ्रमण गर्नुभइ ताङ्गतिङ्ग युवा क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिका रुपमा धर्म गुरु तथा तमु लामा संघ नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङ्ग हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रुपमा नेपाल भूतपूर्ब सैनिक संघका उपाध्यक्ष गर्ज गुरुङ्ग हुनुहुन्थ्यो । कार्यक्रममा तमुधिं युकेद्वारा आयोजित क्होला सोंथर भ्रमणटोलीका प्रमुख संयोजक एकेन्द्र गुरुङ्गले ताङ्गतिङ्ग गाउँ एउटा विविधताले भरिएको गुरुङ्ग गाउँ मध्ये एक भएको र अन्य गाउँहरु जस्तै ताङ्गतिङ्ग गाउँको पनि आफ्नो छुट्टै पहिचान र महत्व भएको बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथि गर्ज गुरुङ्गले ताङ्गतिङ्ग गाउँका मानिसहरुमा अरु गुरुङ्ग गाउँहरुको तुलनामा बढी राजनीतिक सचेतना रहेको सुनाउनु भयो । सोही अवसरमा लण्डन बार्नेट बरोको काउन्सिलर पदमा समाजसेवी लक्ष्यबहादुर गुरुङ्ग निर्बाचित हुनुभएको खुशीयालीमा समाजको तर्फबाट उहाँलाई फेटा ओढाइ सम्मान तथा अभिनन्दन गरिएको थियो । त्यस्तै हाल संयुक्त राष्ट्र संघमा कार्यरत समाजका सल्लाहकार जीत बहादुर गुरुङ्ग यसै बर्ष राष्ट्र संघको पी ५ तहमा पदोन्नति भएकोमा उहाँलाई पनि फेटा ओढाइ बधाइ तथा सम्मान गरियो । सधैको बर्षहरुमा झैं यस बर्ष पनि समाजका ग्राजुयट सदस्यहरु, नयाँ घर वा सम्पत्ति जोडन सफल सदस्यहरु, जागीरमा पदोन्नति भएका सदस्यहरु, नवविवाहित, परिवारमा नयाँ सदस्यको जन्म वा आगमन तथा यसै बर्षमात्र युके आउनुभएका सदस्यहरुलाई बधाइ, शुभकामना तथा स्वागत गरिएको थियो । ग्राजुयट सदस्यहरुलाई बधाइ तथा शुभकामना दिने क्रममा यसै बर्षमात्र लण्डन इम्पेरियल कलेजबाट माइक्रोबायोलोजीमा विद्यावारिधि गरेकी छात्रा इश्वरी (करिष्मा) गुरुङ्ग (काउन्सिलर लक्ष्य बहादुर गुरुङ्ग तथा श्रीमती शोभा गुरुङ्गकी कान्छी सुपुत्री) लाई विशेष बधाइ तथा शुभकामना दिइएको थियो ।

औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष तथा काउन्सिलर लक्ष्यबहादुर गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका सचिब टाउ गुरुङ्गले गर्नुभएको थियो ।