प्रहरी इन्काउन्टरमा मारिए अपहरणकारी

काठमाडौंको काँडाघारीबाट हिजो साँझ अपहरणमा परेका ११ बर्षिय बालक निशान खड्का मृत भेटिएका छन् । उनको अपहरण गर्ने दुइ जनाको आज अपरान्ह प्रहरी कार्वाहीमा मृत्यु भएको छ ।

आइतबार स्कुलबाट फर्केपछि घर बाहिर खेल्न निस्केका निशानको शव प्रहरीले आज दिउँसो भक्तपुरमा फेला पारेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङले बालकलाई अपहरण गरेका थिए । त्यसलगत्तै अपहरणकारीले राति ९ बजे  ४० लाख फिरौती माग्दै आमा चमेली खड्कालाई फोन गरेपछि परिवारले प्रहरीलाई घटनाबारे जानकारी दिएको थियो । घटना लगत्तै खोजी तिव्र पारे पनि बच्चालाई जिवितै उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ। अपहरणमा स‌ंलग्न दुबैजना प्रहरी कारवाहीमा मारिएका छन् ।

अपहरणकारीबाट एउटा पेस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भएका खड्का आमा र हजुरबुवासँग  बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्।

आइतबार राती काठमाडौंबाटै बालक अपहरणमा परेको खबरले प्रहरीलाई पनि तरंगित बनायो । खबर पाए लगतै बालकको उद्धार र अपहरणकारीको खोजीका लागि अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली खटियो । तर प्रहरीले अपहरणमा परेका ११ वषिर्य निशान खडकालाई अपहरणकारीको हातबाट वचाउन त सकेन, अपहरणकारी पनि प्रहरीको कार्वाहीबाट जोगिएनन् ।