शिव भण्डारी ,
लन्डन–गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आइतबार आज भब्य रुपमा हुदैछ । कार्यक्रमका लागि गुल्मी जिल्लाकै गायक बैकुण्ठ महत एवं गायिका सुशिला गौतमले प्रस्तुति दिने छन् ।
समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली विशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुँदैछ । कार्यक्रमको तयारी तीब्र पारिएको छ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव वीर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार सहित कार्यसमितिका टिमहरु पनि सफल बनाउन जुटिरहेका छन्।
कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि पस्किने तयारी छ । त्यस्तै, कार्यक्रम स्थलमा बारबीक्यू , परम्परागत झयाउरे भाकाहरुदेखि गुल्मीमा प्रचलित मौलिक भजनहरुको समेत आकर्षक प्रस्तुति गरिनेछ । त्यसै गरि गुल्मेली नौमतीको बाजाको विशेष प्रस्तुति रहनेछ भने समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा तथा निर्वतमान अध्यक्ष अर्जुन गौतम लगायतले कार्यक्रम शुभारम्भ गरिनेछ ।
सांस्कृतिक कार्यक्रमको सञ्चालन समाजकै प्रवक्ता मञ्जु खरेल भण्डारीको संयोजनमा कार्यसमिति सदस्य मुना खरेल तथा तारा भट्टराईले साथदिने छन् । कार्यक्रममा लण्डन सहित लेस्टर, बर्मिगहम, स्कटल्याण्ड लगायत बेलायतका विभिन्न भेगबाट हजार बढी गुल्मेलीहरु भेला हुन्छन् । कार्यक्रममा सहभागिताका लागि बेलायतबासी सम्पुर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुलाई समाजका अध्यक्ष राम गलामीले आह्वान गरेका छन् । मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रम दिनभर र साझ ७ बजे सम्म चल्नेछ ।
कार्यक्रममा सहभागी हुन १५ पाउण्डको टिकट छ भने ८ वर्ष देखि १२ वर्ष सम्मका लागि ८ पाउण्डमात्र शुल्क राखिएको छ । समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरञ्जन र आपसी भेटघाटका हिसावले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा विशेष रुपमा हेर्ने गरिन्छ ।
गुल्मी जिल्ला समाज यूकेले यसअघिका वर्षहरुमा पनि वार्षिक कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरु बेलायत ल्याउने गरेको थियो । समाजको निमन्त्राणमा अहिलेसम्म पशुपति शर्मा , जमुना सनम, मञ्जु पौडेल, सन्तु थापा, रुपा घर्ती लगायतका गुल्मेली कलाकारहरु बेलायत आएर कार्यक्रमहरु गरिसकेका छन् । राष्ट्रिय स्तरमा समेत चर्चा र लोकप्रियता बटुल्न सफल गुल्मीकै कलाकारहरुलाई प्राथमिकतामा राखेर सम्मान र हौसलाका लागि समाजले बेलायतमा निम्त्याउने गरेको समाजका महासचिव शिव भण्डारीले बताए ।
सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिइन्छ ।
उक्त कार्यक्रमको स्थलगत रिपोर्ट विश्वभर पुर्याउन लन्डन नेपाल न्यूज डट कमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।







