लन्डन । प्रवासी नेपाली मञ्च यूकेको आज शनिवार सांझ हुन गइरहेको १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमकी प्रमुख अतिथी रामकुमारी झांक्री लन्डन आउन असमर्थ भएकी छिन् । धावनमार्ग नजिकै दुर्घटनाग्रस्त टर्किस् एयरलाइन्सको जहाज सार्न नसक्दा गत बुधवार देखि अवरुद्ध देशको एकमात्र अन्त
र्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान नभएपछि नेतृ झांक्री बेलायत आउन नसकेकी हुन् । यसका कारण विश्वभरबाट नेपाल जान वा आउन लागेका हजारौं यात्रु स्वदेश र देश बाहिर विमानस्थलमा अलपत्र छन् ।
झांक्रीले फेसबुकमार्फत भनेकी छिन्, ‘७ मार्चको कार्यक्रम भेट्ने गरि ५ मार्चको बिहानको, तुलनात्मक रूपमा छोटो ट्रान्जिट भएको कतार एयरवेजबाट लन्डन आउने गरि टिकट लिएं । प्रतिक्षा गरेर बसिरहे भोली बिहान खुल्छ, भरे चार बजे खुल्छ जस्ता सिभिल एभिएसनको विज्ञप्तिको भर परि वैकल्पिक उपायको खोजी समयमा गर्न सकिन । जब दिल्ली हुंदै जान नेपालको आन्तरिक विमानस्थलबाट भारतको कुनै डोमेस्टिक एयरपोर्ट पुग्ने विचार गरि रूटको खोजी गरें समय ढिलो भइसकेको थियो ।’
झांक्रीले आफ्नो कारणले कार्यक्रममा पर्न गएको असुविधाप्रति क्षमा मागेकी छिन् । उनी उपस्थित हुन नसकेपनि कन्नट स्कुल अल्डरसटमा कार्यक्रम यथावत हुने आयोजक प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले जनाएका छन् ।






