संसारका विभिन्न राष्ट्रप्रमुख र राजनेताको सुन्दरताको तुलना गर्ने विभिन्न वेबसाइट पाइन्छन् ।
यीमध्ये एउटा वेबसाइट छ hottestheadsofstate.com जसले संसारका विभिन्न देशका प्रमुखलाई रेटिङ दिने गर्छ ।
अहिले यो सूचीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो शीर्ष स्थानमा छन् । त्यसपछि स्पेनका पेद्रो सान्चेज दोस्रो र भुटानका राजा जिगमे खेसर नामगेयाल वांगचुक तेस्रो स्थानमा छन् ।
यस्तैमा, पाकिस्तानमा इमरान खानले आफ्नो सरकार बनाउन सफल भएपछि के उनी सबैभन्दा ह्यान्डसम प्रमुख नेता बन्लान् भनेर पाकिस्तानको सोसल मिडियामा बहस सुरु हुन थालेको छ ।
यसैबीच ट्वीटरमा एक प्रयोगकर्ता आएशाले लेखिन्, ‘जस्टिन ट्रूडोलाई बिर्सनुहोस् । लेडिज एण्ड जेन्टलमेन तपाईं सामू पेश गरिन्छ, इस्लामिक रिपब्लिक अफ पाकिस्तानका सबैभन्दा ह्यान्डसम प्रधानमन्त्री इमरान खान ।’
यस्तै विचार पत्रकार राबिया अनअमको पनि थियो । उनले जीत पनि इमरान खानको भाषण समाप्त भएलगत्तै भनेकी थिइन्, ‘अब ट्रूडो संसारका सबैभन्दा ‘ह्यान्डसम’ प्रमुख होइनन् ।’
अर्का प्रयोगकर्ता इन्जिनियर सद्दाम खानले ट्वीट गरे, ‘डियर ट्रूडो, मेरा प्रधानमन्त्री इमरान खानलाई भेट्नुहोस् । नलजाउनुहोस् किनभने उनी तपाईंभन्दा ह्यान्डसम छन् ।’
मारिया शमिम नामकी एक प्रयोगकर्ताले लेखिन्, ‘ट्रूडो, म्याक्रो र अब इमरान खान । यो जवान देखिने ह्यान्डसम नेताको समय हो ।’
यस्तै प्रकारको अर्को एक सूचीमा इमरान खान पहिले नै समावेश छन् । उनलाई संसारको ९ सुन्दर राजनेतामा समावेश गरिएको छ । यो सूचीमा इटलीकी पूर्वमन्त्री मारा कारफागना शीर्ष स्थानमा छिन् । त्यसपछि पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी छिन् ।
यद्यपी, यस्तो प्रकारको ट्वीटर ट्रेन्डमा मानिसहरुले आफ्नो असन्तुष्टि पनि जाहिर गरेका छन् र थुप्रैले इमरान खानलाई ट्रूडोभन्दा ह्यान्डसम बताउँदा प्रश्न पनि गरे ।
आशिर इस्लाम ट्वीट गर्छन्, ‘अहिले नयाँ पाकिस्तानमा सबैभन्दा धेरै आँखाको अस्पतालको आवश्यकता छ । विशेषगरी ती मानिसहरुका लागि जसले इमरान खानलाई जस्टिन ट्रूडोभन्दा ह्यान्सम देखे ।’
इमरान खान सबैभन्दा ह्यान्डसम नेता बन्नेछन् वा छैनन् यो भने अनलाइन मतदानबाट थाहा हुन्छ तर त्यस अघि उनले पाकिस्तानको राष्ट्रिय सभामा आफ्नो बहुमत साबित गर्नुपर्ने हुन्छ ।
आम चुनावमा उनको पाकिस्तान तहरीक–ए–इन्साफ सबैभन्दा ठूलो दल बनेर उदाएको छ तर उनीसँग पूर्ण बहुमत छैन ।






