बिपीले कार्यकर्ताकी छोरीलार्इ सिफारिस गर्दा शशांकको बिलौना

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गणेशमान सिंहलार्इ नेताको सम्मान गर्ने र बिपी कोइरालालार्इ कार्यकर्ताको माया गर्ने नेताको संज्ञा दिनुभएको छ ।

पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी राज्य विषयक अन्तरक्रियामा कोइरालाले कांग्रेसका दुर्इ संस्थापक नेतालार्इ यस्तो संज्ञा दिनुभएको हो ।

‘नेतालाई सम्मान दिने गणेशमानजी र कार्यकताको माया, ममता र हेरविचार पुर्याउने बिपीको कार्य शैलीका कारण आजसम्म नेपाली कांग्रेस बाँचेको छ’, उहाँले भन्नुभयो ।

एमबीबीएस पढन आफनो धेरै नम्बर भए पनि थोरै नम्बर ल्याउने कार्यकर्ताकी छोरीलाई सिफारिस गरिदिएपछि बिपीसँगआफूले बिलौना गरेको पनि खुलासा गर्नुभयो । ‘बिपीले त्यसबेला कार्यकर्ताकी छोरीलाई सिफारिस गरेर न्याय गर्नुभयो’, उहाँले भन्नुभयो ।

मेलमिलापको नीति लिएर स्वदेश फर्कने बिपीको विचारप्रति लामो समयसम्म बहस भएको पनि महामन्त्री कोइरालाले स्मरण गर्नुभयो । ‘गणेशमानजी लगायतका नेताले नेपाल फर्कने बित्तिकै झुन्ड्याइ दिए भने के गर्ने ? भन्ने प्रश्नमा बिपीले म पहिला जान्छु, यदि मलाई झुन्ड्याए भने राजनीतिक माहौल बन्छ, त्यसको नेतृत्व तपार्इंहरुले गर्नुपर्छ भनेर भन्नुभएको थियो’, उहाँले इतिहास स्मरण गर्नुभयो ।

सांसद उमेश श्रेष्ठले नेपाली कांग्रेसले नेतृत्व गरेर लोकतन्त्र र समृद्धिको एजेण्डालाई अघि बढाउन र शिक्षालाई आमूलपरिवर्तन गरेर व्यवहार मुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।

आयोजक संस्था बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले सार्नुभएका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले विषय विज्ञलाई ती विषयमा छलफल गरेर लागू गर्न लागिएको जानकारी दिनुभयो । रासस