दुर्घटनाग्रस्त विमान सारियो

काठमाडौं, २३ फाल्गुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान हटाउने प्रयास जारी छ । दुर्घटना भएको स्थलबाट विमान करीब दुई मिटर सारिएको विमानस्थल स्रोतले जनाएको छ । विमानलाई धावनमार्गको सतहमा ल्याइएकाले धकेल्ने काम भइरहेको छ । यद्यपि, पूर्ण रुपमा सार्न सकिनेबारे भने एकिन हुन सकेको छैन ।
बुधवार विहान दुर्घटना भएको विमान हटाउन बिहीबार बेलुकादेखि नेपाल र भारतको विशेषज्ञ प्राविधिक टोली निरन्तर प्रयासमा छ । दुर्घटनाग्रस्त टर्किस विमानको कारण लामो दूरीको आन्तरिक उडानमा समेत कठिनाई भएको छ । रन वेको अभावमा बुद्ध र यति एयरलान्सले आज पनि धनगढी उडान गर्न नसकेको जनाइएको छ ।
विमानस्थल खुल्ने टुंगो नभएकै कारण जेट एयरवेजले मुम्बईमा रहेका यात्रुलाई गाडीमै काठमाडौं पठाएको छ । अलपत्र परेका सयौं यात्रुले अहिले विमानस्थल भरिएको छ । यात्रुहरु विमानस्थलमा आउने–फर्कने क्रम जारी छ । वैदेशिक रोजगारीमा जान काठमाडौं बाहिरबाट प्रत्येक दिन सयौं युवा विमानस्थल पुग्ने गरेका छन् ।
त्रिभुवन विमानस्थलमा हुने दैनिक ४० उडान र अवतरणबाट समस्यामा परेका करिब १२ देखि १५ हजार यात्रुको व्यवस्थापन मिलाउन सकिएको छैन । यता, प्रधानमन्त्री सुशील कोइरालाले अलपत्र परेका विभिन्न देशका यात्रुलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिने व्यवस्था मिलाउन पर्यटन मन्त्री र सरोकारवालालाई निर्देशन दिएका छन् ।