सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक

काठमाडौं– सरकारले सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताएका हुन् ।

उनले सिंहदरबार भित्रै बालश्रमको प्रयोग भईरहेको पाईएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोगमा प्रतिबन्ध गराउन कडा निर्देशन दिनु परेको पनि स्पष्ट पारे ।
मन्त्री विष्टले सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

सरकारले विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ । मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने घोषणा पनि गरे ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जोखिमयुक्त बालश्रमको अन्त्य २०७९ भित्र गरिसक्न सरकारले देशभर अनुगमनको कामलाई तीव्रता दिने योजना पनि अघि सारे ।

कार्यक्रममा इट्टा व्यवसायीहरुले आजैबाट लागू हुनेगरी आफ्नो उद्योगमा बालश्रम प्रयोग नगर्ने घोषणा गरेका थिए । २०८२ साल भित्र मुलुकबाट बालश्रम निवारण गर्ने सरकारको घोषणालाई साथ दिन आफूहरुले पनि बालश्रम प्रयोग नगर्ने घोषणा गरेको नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

उनले मुलुकलाई बालश्रमरहित बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री विष्टले बालश्रम प्रयोग नगर्ने इट्टा व्यवसायीहरुको प्रतिवद्धताको स्वागत गर्दै सबै उद्योगीहरुले बालश्रम प्रयोगमा रोक लगाउन ढिलाई गर्न नहुने बताए ।

नेपालमा हाल करिव १ हजार १ सय बटा इट्टा उद्योगहरु रहेको पाइएको छ । काठमाडांै उपत्यकामा मात्रै १ सय १० वटा इट्टा उद्योग रहेको दावी गर्दै इट्टा उद्योगीहरुले अव त्यसमा बालश्रम प्रयोग नगर्न सामूहिक अभियाननै संचालन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।