बेलायतमा क्षेत्री समाजको वार्षिक समर भेलामा जे देखियो (फोटो फिचर)

लण्डन । नेपाली दौरा सुरुवाल र टोपीमा सजिएका पुरुषहरु अनि सुन्दर ढाकाको सारीमा सिंगारिएका महिलाहरु । यस्तै मौलिक नेपाली पहिरनमा सजिएका सयौं नेपालीहरुको उपस्थितिले शनिबार बेलायतको अल्डरसट सांच्चीकै नेपालमय बन्यो । क्षेत्री समाज यूकेले अल्डरसटको कनर्ट स्कुलमा आयोजना गरेको ११ औं वार्षिक भेटघाट कार्यक्रम ३ सय भन्दा बढिको सहभागितामा सम्पन्न भयो ।

कार्यक्रमको पहिलो सत्रको औपचारिक कार्यक्रममा आजीवन सदस्यहरुको स्वागत, विभिन्न तह उर्तिण गर्ने विद्यार्थीहरुको सम्मान लगायतका कार्यक्रम गरिएको थियो । दोस्रो सत्रमा नेपालबाट आएका राष्ट्रिय कलाकार विमलराज क्षेत्री, गायिका चन्द्रा कार्की, बद्री केसीसहित अन्य विभिन्न स्थानीय कलाकारका विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । समाजका अध्यक्ष राजनकुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका मिलिटरी एट्याची कर्णेल कुमारबाबु थापा थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कर्णेल थापाले क्षेत्री समाज बेलायतले स्थापनाको छोटो समयमै उललेखनीय सामाजिक कार्यहरु गर्न सफल भएको भन्दै प्रशंसा गरे । बेलायतमा रहेका सम्पुर्ण नेपालीहरुलाई एकताबद्ध गर्ने कार्यमा समेत समाज एक माध्यम बन्न सक्ने धारणा व्यक्त गर्दै उनले त्यसका लागि समाजलाई सफलताको शुभकामना दिए । एनआरएन आइसिसी सदस्य तथा क्षेत्री समाज बेलायतका सल्लाहाकर रामशरण सिंखडाले समाजले सामाजिक कार्यहरुको साथसाथै बेलायतमा नेपाली संस्कृतिलाई जिवन्त राख्ने कार्यमा समेत महत्वपुर्ण भुमिका खेलेको बताए ।

स्थापनादेखि आजका दिनसम्म आइपुग्दा समाजले सहि दिशा लिन सफल रहेको उल्लेख गर्दै सिंखडाले भविष्यमा समाज अझै बढि प्रभावशाली र उपलब्धिमुलक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले समाज बेलायतका नेपाली समुदायमा एक अग्रणी समााजिक संस्थाका रुपमा स्थापित भएको जनाउंदै समाजका हरेक सामाजिक कार्यहरुमा सकारात्मक सहयोग र सहकार्य गर्न बेलायतस्थित नेपाली पत्रकारहरु तयार र ईच्छुक रहेको बताए ।

समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले समाजले आगामी वर्षदेखि नेपालमा सहयोगको आवश्यकतामा रहेका विभिन्न क्षेत्र पहिचान गरेर उनीहरुको सहयोगका लागि बेलायतमा च्यारिटी कार्यक्रम गर्ने सोंच बनाएको सुनाए । उल्लेख्य सहभागिताका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहभागी, अतिथी तथा आयोजक समिति, स्पोन्सर र सहयोगी सबैप्रति अध्यक्ष क्षेत्रीले कृतज्ञता प्रकट गरे । महासचिव कुमार केसीले सञ्चालन गरेको कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत मन्तव्य दिएका थिए भने अर्का उपाध्यक्ष रिटायर्ड क्याप्टेन टेकबहादुर जिसीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा समाजका आजिवन सदस्य तथा समाजसेवी व्यवसायी रविजंग लामिछानेलाई समाजको लागि गरेको सहयोगको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य, पासा पुच यूके अध्यक्ष कुमार श्रेष्ठ, क्याट यूके अध्यक्ष देवेन्द्र श्रेष्ठ, ठकुरी समाज यूके अध्यक्ष भक्तबहादुर शाही लगायतका अतिथीहरुसंगै समाजका सल्लाहकारहरु भिम बानिया, धन क्षेत्री, प्रमे खड्का, धन कुंवर, रुद्र खड्का लगायतको पनि उपस्थिति थियो । कार्यक्रमको दोस्रो चरणमा सुनिता थापाले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

नेपालबाट आएका चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री, गायिका चन्द्रा कार्की र बद्री केसीले विभिन्न गीतहरु प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराएका थिए । साथमा स्थानीय कलकारहरुले प्रस्तुत गरेका विभिन्न गीत तथा नृत्यका प्रस्तुतिले पनि कार्यक्रमका सहभागीहरुको मन जित्न सफल भएको थियो । अन्त्यमा डिजे हेम विष्टले समेत विभिन्न डान्सिंग नम्बर बजाएर कार्यक्रमका सहभागीहरुलाई धेरैबेर नचाएका थिए ।